बिहान दुई घन्टाका लागि रौतहटमा कर्फ्यू खुकुलो

काठमाडौं । रौतहटको सदरमुकाम गौरमा एक विवाह कार्यक्रममा ‘डिजे’का कारण होहल्ला भएको विषयबाट शुरू भएको विवादले झडपको स्थिति सिर्जना भएपछि जारी गरिएको कर्फ्यूको आदेश आज बिहान दुई घन्टाका लागि खुकुलो बनाइएको छ।
गौर नगरपालिकाको सबगढा गाउँमा बिहीबार बेलुकीबाटै विवाद शुरू भएको थियो। शुक्रबार पनि जारी रहेको विवाद शनिबारसम्म आइपुग्दा ढुंगा हानाहान र झडपमा परिणत भएपछि जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यूको आदेश जारी गरेका थिए।
कर्फ्यू हिजो शनिबार दिउँसो १ बजेदेखि आज आइतबार बिहान ६ः३० बजेसम्म निरन्तर रहने र आज बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म अत्यावश्यक कार्यको लागि कर्फ्यू आदेश खुकुलो रहने र साढे ८ बजेदेखि अर्काे आदेश नभएसम्मका लागि कर्फ्यू जारी रहनेछ।
पूर्वमा मुडबलवा गेटदेखि पश्चिममा लालकवैया बाँधसम्म र उत्तरमा बम नहरदेखि दक्षिणमा गौर भन्सार कार्यालयसम्म कर्फ्यू लागू हुनेछ। कर्फ्यू लागेको समय र स्थानमा कुनै व्यक्ति आवतजावत गर्न, कुनै किसिमको भेला, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिएका छन्।












