भ्रामक सूचना फैलाउने २९० कन्टेन्टविरुद्ध साइबर ब्यूरोमा उजुरी

काठमाडौं । निर्वाचनलाई अझै सहभागीमुखी बनाउँदै बदर मतको प्रतिशत घटाउने लक्ष्यसहित निर्वाचन आयोगले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई तीव्रता दिएको छ। मताधिकारको महत्व, मतदानको विधि र प्रक्रियाबारे आमनागरिकलाई प्रत्यक्ष जानकारी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहअन्तर्गत ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको छ। स्वयंसेवकहरू मतदाताको बस्ती तथा घरदैलोमा पुगेर नमूना मतपत्र प्रयोग गरी मतदान कसरी गर्ने, मत बदर हुन नदिन के–कस्ता सावधानी अपनाउने लगायत विषयमा जानकारी दिइरहेका छन्।
मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनाउन आयोगले स्थानीय तहमा यसअघि तोकिएका सम्पर्क व्यक्तिलाई नै अनुगमनकर्ताको जिम्मेवारी दिएको छ। ती अनुगमनकर्तालाई अभिमुखीकरण कार्यक्रममार्फत आवश्यक निर्देशन र तालिम प्रदान गरिएको आयोगले स्पष्ट पारेको छ।
निर्वाचन आचारसंहिताको कार्यान्वयनतर्फ पनि आयोगले निगरानी कडा बनाएको जनाएको छ। मिथ्या, भ्रामक तथा घृणास्पद अभिव्यक्ति फैलाउने गतिविधि नियन्त्रण गर्न आयोगअन्तर्गत स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र सक्रिय रहेको छ। सो केन्द्रको सूचना सदाचार प्रवर्द्धन एकाइले डिजिटल माध्यममार्फत प्रसारित सामग्रीको अनुगमन गरिरहेको आयोगको भनाइ छ।
आयोगका अनुसार हानिकारक तथा भ्रमपूर्ण सामग्री उत्पादन र प्रसारण गरेको आरोपमा २९० कन्टेन्ट उत्पादक तथा सम्प्रेषकविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही प्रक्रिया अघि बढाउन नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गरिएको छ।
यस्तै, ११ प्रकरण दूरसञ्चार प्राधिकरण ऐन, २०५२ अनुसार कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको छ। ६५ वटा प्रकरण प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि प्रेस काउन्सिल, नेपालमा सिफारिस गरिएको छ भने एक प्रकरण विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ अन्तर्गत कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको आयोगले जनाएको छ।












