जनउभार अनुरुप घण्टीको घोषणा पत्र आउन नसक्दा कार्यकर्तामा निराशा

काठमाडौं । आगामी फागुन २१ गते निर्वाचन सम्पन्न भएपछि सो पार्टीका बरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री बन्ने कुरामा दुई मत छैन । अहिले देशैभरि घण्टीको पक्षमा अभूतपूर्व जनउभार आइरहेको छ । तर, निर्वाचनमा देखिएको जनउभारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो घोषणा पत्रमा सम्बोधन गर्न सकेको छैन ।
अहिले संघीयता लागू गर्ने कि खारेज गर्ने भनेर जनमत संग्रह गर्ने हो भने अत्याधिक दुई तिहाई मत खारेज गर्ने पक्षमा आउँछ । तर, रास्वपाले संघीयता र प्रदेश संरचनालाई स्वीकार गर्ने तथ्य घोषणा पत्रमा उल्लेख छ । रास्वपाको घोषणा पत्र उल्लेख भएको उक्त तथ्यले देशमा नयाँ चाहने धेरै आम जनताको मन कुडिन पुगेको छ ।
अर्को तथ्य उदार अर्थनीतिसँग सम्बन्धित छ । साथै देशका उद्योग तथा कलकारखानाहरु निजिकरण गर्ने तथा व्यापारीलाई बिक्री गरेर चलाउने सरकारले उद्देश्य लिएको देखिन आउँछ । रास्वपाले आफ्नो घोषणा पत्रमा सरकारी संस्थान तथा सरकारी लगानीमा सञ्चालित सबै उद्योगहरु निजिकरण, साझेदारीमा सञ्चालन गर्ने तथा रणनीतिक साझेदार भित्राउने उल्लेख छ । उक्त घोषणा पत्रले आर्थिक समृद्धि र सरकारी कम्पनीहरुको आर्थिक प्रगति उत्थान चाहने सबै नेपालीहरुको अपमान गर्ने कार्य रास्वपाको घोषणा पत्रमा उल्लेख छ ।
रास्वपाको घोषण पत्रको अर्को तथ्यले आम जनताको तीन छक परेका छन् । रास्वपाले आफ्नो घोषणा पत्रमा सामाजिक सञ्जाल नियन्त्रण गर्ने उल्लेख छ । कसरी नियन्त्रण गर्ने भन्ने बिषय उल्लेख नगरी उक्त बिषयको खाका घोषणा पत्रमा समावेश हुनुले रास्वपाले आफू सत्तामा पुगेपछि आफ्ना विरोधीहरुलाई तह लगाउन सक्ने देखिन आएको छ ।
रास्वपाले आफ्नो घोषणा पत्रमा आर्थिक समृद्धिको ठोस मार्गचित्र प्रस्तुत गर्न सकेको छैन । जनताको प्रतिव्यक्ति आय आगामी पाँच बर्षमा ३००० डलर पुर्याउने उल्लेख छ । तर कसरी भन्ने स्पष्ट व्याख्या गरिएको छैन । जनताको प्रतिव्यक्ति आय हाल जसरी नै विदेशमा बसेर आम्दानी गरी बृद्धि हो वा नेपालमै बसेर आय गरी बृद्धि हुने भन्ने स्पष्ट मार्गचित्र घोषणा पत्रमा उल्लेख नुहुनुले रास्वपाभित्र योजना, भिजनको अत्यन्तै ठूला समस्याहरु रहेको देखिन आएको छ ।
आज एउटा घोषणा पत्र तयार गर्न राम्रा बिज्ञहरु निम्त्याएर छलफल नगरी हचुवाको भरमा जारी गर्ने रास्वपाले सो घोषणा पत्र जारी गरेपछि पत्रकार सम्मेलन समेत गर्न सकेको छैन । सो पार्टीका नेता बालेन शाहप्रति जनताको आकर्षणलाई रास्वपाले निर्वाचनमा मत माग्ने हतियारको रुपमा प्रयोग गरिरहेको छ । उसको घोषणा पत्रबारे खासै छलफल समेत नहुनुले नेपालका सञ्चार माध्यमहरु, पत्रकार, नागरिक समाजका सदस्यहरु समेत अन्योलमा पर्न गएको देखिन आएको छ ।












