महासंघ चुनावी माहोल: हेमराज ढकाल प्यानलसहित उम्मेदवारी दिने तयारीमा

काठमाडौं । निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा आगामी चुनावी माहोल सुरु भएको छ। महासंघको ६० औं वार्षिक साधारण सभासँगै नयाँ कार्यसमितिको चयन हुने क्रममा विभिन्न समूहले उमेदवारी घोषणा गर्न तयारी थालेका छन्।
महासंघको वार्षिक साधारण सभा आगामी चैत २८ र २९ मा आयोजना हुँदैछ। विधान अनुसार वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वत: अध्यक्ष हुनेछन् भने अन्य पदमा प्रत्यक्ष चुनाव हुने व्यवस्था छ।
यसपटक वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालको प्यानलबाट उम्मेदवारी घोषणा गर्ने तयारी भएको छ। ढकाल हाल वस्तुगत उपाध्यक्ष रहेका छन्। उनका प्यानलबाट उपाध्यक्षसहित अन्य पदमा प्रतिस्पर्धा हुने देखिएको छ। उक्त समूहले सोमबार अपराह्न उम्मेदवारी घोषणा गर्ने तयारी गरेको छ। वरिष्ठ उपाध्यक्षको उम्मेदवारी पछि मात्रै घोषणा हुने महासंघका स्रोतले जानकारी दिएका छन्।
एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठले दोहोर्याउने उद्देश्यले उम्मेदवारी दिने तयारी गरेकी छन्। त्यस्तै, जिल्ला/नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरेले उम्मेदवारी दिनेछन्। महासंघको नयाँ विधान अनुसार यसपटक दुईजना जिल्ला/नगर उपाध्यक्ष रहने व्यवस्था गरिएको छ।
वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र उपाध्यक्ष प्रतावित महिलामा कमला श्रेष्ठले उम्मेदवारी दिने प्यानल घोषणा पनि सोमबार हुने तय भएको छ।
अर्कोतर्फ, शिवप्रसाद घिमिरेले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। उनका प्यानलमा प्रवलजंघ पाण्डे र कृष्ण शर्मा समावेश हुने अपेक्षा छ, तर औपचारिक घोषणा अहिलेसम्म भएको छैन।












