आगजनीपछि पुनःउठेको भाटभटेनी महाराजगञ्ज भवन, निर्माणमा खटिएका श्रमिकहरूलाई सम्मान

१० फाल्गुन २०८२, आईतवार १५:३८

काठमाडौँ । भाटभटेनी सुपरमार्केटको महाराजगञ्जस्थित भवन पुनःनिर्माण कार्यमा खटिएका कामदारहरूलाई सम्मान गरिएको छ। आइतबार आयोजित विशेष कार्यक्रममा सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले पुनःनिर्माणमा योगदान पुर्‍याएका श्रमिकहरूलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरेका हुन्।

आगजनीबाट क्षति पुगेको भवनलाई छोटो समयमै पुनःनिर्माण गरी सञ्चालनमा ल्याउन श्रमिकहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै गुरुङले आभार व्यक्त गरे। जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते उक्त भवनमा आगजनी भएको थियो। आगलागीबाट संरचनामा क्षति पुगेपछि व्यवस्थापनले तत्काल पुनःनिर्माण प्रक्रिया अघि बढाएको थियो। पुनःनिर्माण सम्पन्न भएपछि धार्मिक परम्पराअनुसार रुद्री पाठ गरी भवन पुनः सञ्चालनमा ल्याइएको जनाएको छ।

भदौ २४ गते देशका विभिन्न स्थानमा सञ्चालित भाटभटेनीका अन्य केही स्टोरहरूमा समेत आगजनीका घटना भएका थिए। ती घटनापछि कम्पनीले सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने र सेवा प्रवाहलाई नियमित बनाउने प्रतिबद्धता जनाएको छ।

पुनःनिर्माण कार्यमा संलग्न श्रमिकहरूको सम्मानले चुनौतीपूर्ण परिस्थितिमा पनि व्यवसाय निरन्तरता र संरचना पुनर्स्थापनामा श्रमशक्तिको योगदान कदर गरिएको सन्देश दिएको कम्पनीले उल्लेख गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*