सर्वसाधारणले सुपर खुदी हाइड्रोपावरको आईपीओ भर्ने अन्तिम दिन

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले फागुन ५ गतेदेखि सर्वसाधारणमा बिक्री खुला गरिरहेको आईपीओमा आवेदन दिने आज फागुन ११ गते अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ खुला गरी बाँडफाँड गरेसँगै सर्वसाधारणका लागि आईपीओ खुलाएको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल ३१ लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। जसमध्ये १५ लाख ५० हजार कित्ता आईपीओ आयोजना प्रभावितका लागि र १ लाख ५५ हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा निष्काशन गरी बाँडफाँड गरिसकेको छ।
कम्पनीले बाँकी आईपीओमध्ये सामूहिक लगानी कोषका लागि ७७ हजार ५०० कित्ता र कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि ३१ हजार कित्ता आईपीओ सुरक्षित गरी बाँकी रहेको १२ लाख ८६ हजार ५०० कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गरिरहेको छ।
आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि र अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूबाट सि आस्बा प्रणाली मार्फत सजिलै आवेदन दिन सक्नेछन्।












