धादिङ बस दुर्घटनामा छानबिन समिति गठन गर्ने गृह मन्त्रालयको निर्णय

काठमाडौँ । धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ मा भएको बस दुर्घटनापछि गृह मन्त्रालयले छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। दुर्घटनामा १९ जनाको मृत्यु भएपछि जनधनको ठूलो क्षति भएको भन्दै मन्त्रालयले तत्काल कदम चाल्ने निर्णय गरेको हो।
सोमबार गृह मन्त्रालयमा बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासङ्घ, तीनवटै सुरक्षा निकायका प्रमुख र सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी थिए। बैठकमा दुर्घटनाको कारण पत्ता लगाउन र भविष्यमा यस्ता घटनाबाट जोगिन रणनीति बनाउन छानबिन समिति गठन गर्ने सहमति भएको छ।
पोखराबाट काठमाडौँ जाँदै गरेको ग२ख १४२१ नम्बरको बस आइतबार राति बेनिघाट रोराङ्ग–५ भैंसेगौडा क्षेत्रमा त्रिशूली नदी किनारमा खसेको थियो।












