निर्वाचन आयोगद्वारा ८५ उजुरीको अनुगमन, ५४ जना उम्मेदवार स्पष्टीकरण सोधियो

११ फाल्गुन २०८२, सोमबार १४:१७

काठमाडौँ। निर्वाचन आचारसंहिता अनुगमन समितिमा हालसम्म ८५ वटा उजुरी दर्ता भइसकेका छन् । आयोगका अनुसार, ती उजुरी सम्बन्धित राजनीतिक दल र उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएको छ भने अहिलेसम्म ५४ वटा जवाफ प्राप्त भएका छन् ।

निर्वाचन आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार, प्राप्त उजुरीहरूमध्ये ७९ जनालाई पहिलो चरणमा स्पष्टीकरण सोधिएको छ भने ६ जनालाई पुनः स्पष्टीकरणको प्रक्रिया अघि बढाइएको छ । आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई समेत निर्वाचन आचारसंहिता उल्लङ्घनको उजुरीमा स्पष्टीकरण सोधेको छ ।

विशेष गरी दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ कार्यरत पत्रकारहरूको विषयमा भने प्रेस काउन्सिल नेपालमार्फत कारबाहीको सिफारिस गरिएको छ । यसै क्रममा, निर्वाचन विश्लेषणका नाममा मत सर्वेक्षणको समाचार प्रकाशन गर्दै दल वा उम्मेदवारलाई फाइदा पुर्‍याएको भन्दै सेतोपाटी अनलाइनलाई पनि प्रेस काउन्सिलमार्फत स्पष्टीकरण सोधिएको छ ।

जिल्लास्तरमा पनि निर्वाचन आचारसंहिता उल्लङ्घनबारे उजुरीहरू प्राप्त भइसकेका छन् र आवश्यक कारबाही अघि बढिरहेको छ । आयोगले उजुरीको तथ्याङ्कलाई आधार मानेर आवश्यक जाँचबुझ गरी दोषी देखिएका पक्षहरूमा कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ ।

केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत र सम्बन्धित निर्वाचन कार्यालयहरू आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा सक्रिय छन् । आयोगले दफा ३२, निर्वाचन आचारसंहिता, २०८२ अनुसार ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई आर्थिक बाहेकका विषयमा र प्रमुख कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन अधिकृत तोकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*