महासंघ अध्यक्ष ढकालको दाबी : आफ्नो कार्यकालमा अधिकांश प्रतिबद्धता पूरा गरे 

११ फाल्गुन २०८२, सोमबार १९:११

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो कार्यकालमा गरिएको प्रतिबद्धतामध्ये अधिकांश पूरा गरेको दाबी गरेका छन्। महासंघको ६०औँ वार्षिक साधारणसभासँगै नयाँ कार्यसमितिको चयन प्रक्रिया अघि बढिरहेका बेला वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हेमराज ढकालले प्यानलसहित घोषणा कार्यक्रम आयोजना गरेका थिए। सोही कार्यक्रममा अध्यक्ष ढकालले आफूले नेतृत्व सम्हालेपछि संस्थागत सुधार र व्यवसायीका समस्याको समाधानमा महत्वपूर्ण प्रगति भएको बताएका हुन्।

उनले महासंघलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा राख्ने विषय अधिकतम रूपमा फिर्ता गराउन सफल भएको उल्लेख गरे। साथै, कानुन परिमार्जनमार्फत व्यवसायीलाई देखिएका नीतिगत अवरोधहरू हटाइएको र व्यवसायमैत्री वातावरण निर्माण गरिएको दाबी गरे।

अध्यक्ष ढकालका अनुसार महासंघको विधान संशोधन गरी प्रत्येक प्रदेशबाट सहभागिता सुनिश्चित गरिएको छ। व्यवसायीहरूले लामो समयदेखि उठाउँदै आएका विभिन्न समस्याहरू समाधान गर्न पहल गरिएको उनले बताए। त्यस्तै, एक कार्यकाल केन्द्रीय सदस्य भइसकेको व्यक्तिलाई जिल्लाबाट पुनः सिफारिस आवश्यक नपर्ने व्यवस्था पनि गरिएको जानकारी दिए।

आफ्नो कार्यकाल अब करिब दुई महिना मात्र बाँकी रहेको उल्लेख गर्दै उनले प्रारम्भिक घोषणापत्रमा समेटिएका योजनाहरू कार्यान्वयनका लागि पूर्वप्रधानमन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेताहरू तथा निजी क्षेत्रका सरोकारवालासँग निरन्तर संवाद गरेको बताए। निजी क्षेत्रको प्रतिनिधिका रूपमा आफूले व्यवसायी समुदायको हितमा अधिकतम काम गर्ने प्रयास गरेको उनको भनाइ छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*