उत्पादनमुखी अर्थतन्त्रलाई प्रोत्साहन गर्न र ब्यवसायी मनोबल बढाउन मेरो महासंघमा उम्मेदवारी: हेमराज ढकाल

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै हेमराज ढकालले उत्पादनमुखी अर्थतन्त्र निर्माणलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताएका छन्। हाल वस्तुगत उपाध्यक्ष रहेका ढकालले आफूले प्रतिकूल परिस्थितिमा समेत उल्लेखनीय काम गर्न सफल भएको दाबी गरे।
उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै उनले अघिल्लो कार्यकालमा नीतिगत स्थिरता कायम गर्न तथा विभिन्न कानुन संशोधन गर्न पहल गरिएको बताए। कर सुधारका क्षेत्रमा समेत महत्वपूर्ण उपलब्धि हासिल भएको उनको भनाइ थियो। यद्यपि, राजनीतिक अस्थिरताका कारण व्यवसायीहरूमा केही त्रासको अवस्था सिर्जना भएको र लगानीमैत्री वातावरण अपेक्षाअनुसार तयार हुन नसकेको उनले स्वीकार गरे।
ढकालले आगामी दिनमा सरकारी तहमा रोकिएर बसेका कानुनहरू पारित गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। बजारलाई चलायमान बनाउन, थलिएको अर्थतन्त्रलाई सुदृढ गर्न र आर्थिक वृद्धि दर कायम राख्न निजी क्षेत्र सक्रिय रूपमा लाग्ने उनले बताए।
देशबाट युवाहरूको विदेशिने क्रम रोक्न स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले उत्पादनमुखी अर्थतन्त्रलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरिने बताए। व्यवसायीका हक–हित संरक्षण, नीतिगत सुधार तथा समस्या सहजीकरण आफ्नो प्राथमिकता रहने उनको भनाइ थियो।
‘निजी क्षेत्रका समस्या समाधान नै मेरो मुख्य दायित्व हो’ उनले भने, ‘सरकारसँग राख्नुपर्ने विषय स्पष्ट रूपमा राख्नेछौं र आवश्यक परे सरकारी निकायका ढोका ढकढकाउनेछौं।’
ढकालले महासंघभित्र सबै तह र क्षेत्रलाई जोड्ने संरचना निर्माण गर्ने योजना समेत अघि सारे। समग्रमा, अर्थतन्त्रलाई चलायमान बनाउँदै निजी क्षेत्रलाई सबल बनाउने लक्ष्यसहित आफूले उम्मेदवारी दिएको उनले स्पष्ट पारे।












