नेपाल प्रहरीमा कृत्रिम बुद्धिमत्ता सेल स्थापना

काठमाडौं । काठमाडौंको नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयमा कृत्रिम बुद्धिमत्ता तथा उन्नत तथ्य विश्लेषण कक्ष (आर्टिफिसियल इन्टेलिजेन्स एण्ड एड्भान्स्ड एनालिटिक्स सेल) सञ्चालनमा आएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार आयोजित कार्यक्रममा उक्त कक्षको उद्घाटन गरेका हुन्।
उद्घाटनपछि गृहमन्त्री अर्यालले कक्षको अवलोकन गर्दै यसबाट गरिने काम, प्रयोग र यसको उपयोगिताबारे जानकारी लिएका छन्। कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू तथा गृह मन्त्रालयका अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।

हालका दिनमा साइबर अपराध, सामाजिक सञ्जालमार्फत फैलाइने गलत तथा भ्रामक सूचना, संगठित आपराधिक सञ्जाल, वित्तीय अपराध तथा डिजिटल माध्यमबाट हुने अस्थिर गतिविधि बढ्दै गइरहेका छन्। यस्ता चुनौती सामना गर्न अब प्रविधिमा आधारित विश्लेषण प्रणाली आवश्यक भएको प्रहरीको भनाइ छ। यही आवश्यकता अनुसार कृत्रिम बुद्धिमत्ता, वृहत् भाषा नमुना प्रणाली (एलएलएम), यान्त्रिक सिकाइ, पूर्वानुमान विश्लेषण तथा स्वचालित प्रणालीमा आधारित संरचना स्थापना गरिएको हो।
यस कक्षका मुख्य उद्देश्यहरूमा समयमै सूचना संकलन र विश्लेषण, पूर्व चेतावनीको प्रणाली विकास, डिजिटल अपराध अनुसन्धानमा सुदृढीकरण, प्रविधि सहयोगमा अनुसन्धान प्रक्रिया प्रभावकारी बनाउने तथा डिजिटल प्रमाण व्यवस्थापन प्रणाली विकास गर्नु रहेका छन्। नेपाल प्रहरीले यस कक्षको प्रयोग गरी सामाजिक सञ्जालमार्फत गलत तथा भ्रामक सूचना फैलाउने पाँच घटनामा संलग्न व्यक्तिहरूलाई बाँके, कञ्चनपुर, सुनसरी, सल्यान र दाङबाट नियन्त्रणमा लिई कानुनी कारबाही अघि बढाएको जनाएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत हुन आग्रह गरेका छन्। सामाजिक सञ्जालको दुरुपयोग गरी गलत सूचना फैलाउनेलाई कानुनी दायरामा ल्याउन प्रहरी सक्रिय रहेको उनले बताएका छन्।













