केपी ओलीको भ्यूटावर बोकेर बालेन चुनावी मैदानमा, रास्वपाले ल्याउने समृद्धि ‘केपी ओलीको पानी जहाज’ जस्तै !

समाचार टिप्पणी
यतिबेला देश चुनावमय बन्न पुगेको छ । आम जनता पुराना राजनीतिक दल र तिनका नेताहरूलाई यस पटकको निर्वाचनमा उत्तानो पारेर पछार्न आतूर छन् । जनतालाई फुस्रा आश्वासन दिने तर चुनाव जितेर संसद भवन छिरेपछि मोबाइल बोक्ने छुट्टै पीए राखेर जनतासँगको सम्बन्धमा दूरी कायम गर्ने कांग्रेस, एमाले, माओवादी जस्ता पार्टीका सांसदहरूले यस पटकको निर्वाचनमा नराम्ररी धूलो चाट्नेवाला छन् ।
निर्वाचन नजिकिंदै गर्दा आम सर्वसाधारण नयाँ र वैकल्पिक राजनीतिक शक्ति र उम्मेदवारलाई मतदान गर्न आतूर देखिएका छन् तर नयाँ र वैकल्पिक शक्ति भनेर चिनिएको रास्वपा र प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह आफैंले पनि जनतालाई विकास र समृद्धि दिने कुरामा विश्वास गर्न सकिने पर्याप्त आधार र धरातल देखाउन सकेका छैनन् । निर्वाचन निजिकिंदै जाँदा भावी प्रधानमन्त्री बनेर चिनिएका बालेन शाहको चुनावी एजेण्डामा धेरैको ध्यान गएको छ ।
बालेन शाहले झापा क्षेत्र नं ५ मा निर्वाचनका लागि जारी गरेको घोषणा पत्रमा दमकमा रहेको भ्यूटावर सञ्चालन गर्ने उल्लेख गरेका छन् । पछिल्लो तीन वर्षदेखि रास्वपाका नेतादेखि कार्यकर्ताहरूले संसद र सडकमा समेत जनताको भोको पेटमा लात हानेर आफ्नो जिल्लामा भ्यूटावर बनाएको भनेर गाली गरेर आजको रास्वपामा यो उभार आएको हो तर बालेन शाहले केपी ओलीले निर्माण गरेको भ्यूटावर सञ्चालन गर्ने विषय आफ्नो एजेण्डामा समावेश गरेर सैद्धान्तिक रूपमा आत्मसमर्पण गर्न पुगेका छन् ।
यहाँ विषय दमकको भ्यूटावर मात्रै होइन देशैभरी सयौं भ्यूटावर यसअघिको नेकपाको सरकारको पालामा ठड्याइएका छन् । त्यसमध्येको एक हो झापाको भ्यूटावर । पर्यटन प्रबद्र्धन गर्न देशैभरी भ्यूटावर बनाउने निर्णय नेकपाको दुई तिहाईको बहुमत रहेको तत्कालीन सरकारले २०७७ सालमा गरेको थियो । अहिले बालेन शाहले केपी ओलीले निर्माण गरेको भ्यूटावरको विषय आफ्नो चुनावी एजेण्डामा समावेश गर्नुले केपी ओलीका एजेण्डा, योजनाहरू सही थिए र ति चिजहरू भविष्यमा पनि चाहिन्छ भन्ने तथ्य स्थापित हुन पुगेको छ ।
राजनीतिक दृष्टिबाट समेत दमकको भ्यूटावर बालेनको चुनावी एजेण्डा बन्नुले भावी प्रधानमन्त्रीसँग देश विकास र समृद्धिको कुनै ठोस योजना छैन भन्ने तथ्य स्पष्ट हुन आएको छ । अझ कूटनीतिक रूपमा व्याख्या गर्ने हो भने केपी ओलीको पानी जहाज चलाउने फुस्रा भाषण र अहिलेको रास्वपाको एजेण्डामा तात्विक भिन्नता देखिंदैन ।
भावी प्रधानमन्त्री बालेन शाहको एजेण्डामा देशले भोग्दै आएको आर्थिक दुरावस्थाबाट बाहिर निस्कन सक्ने कुनै खाका, योजना वा मार्गचित्र समेत देखिन आएन । समग्रतामा भन्नुपर्दा परम्परागत राजनीतिक पार्टी र नयाँ र वैकल्पिक शक्ति भनेर चिनिएको अनि आम जनताले अत्याधिक विश्वास र भरोसा गरेको रास्वपामा पुरानो माओवादी वा एमाले भन्दा खासै भिन्नता देखिएन । संविधान मान्छु भन्ने संविधानमा उल्लेख भएको समाजवादी अर्थव्यवस्था विपरीत उदार अर्थनीति अपनाउने विषय घोषणा पत्रमा समावेश गर्नुले पनि रास्वपाबाट जनता ठूलो धोकाधडीमा फस्न पुगेका छन् । अझ राज्यकोषबाट राष्ट्रिय राजनीतिक दलहरूलाई पैसा वितरण गर्ने जस्तो घातक र जनविरोधी एजेण्डा समावेश गर्दा पनि आम जनता अझै घण्टीकै पक्षमा उफ्रदै हिंड्नुले जनभावना अपहृत भएको अनुभूति हुन पुगेको अवस्था छ ।
यतिबेला जनता दिग्भ्रमित अवस्थामा छन् । भ्रष्टाचार, कुसंस्कार, गुण्डागर्दी, न्यायविहीनताबाट ग्रस्त बनेका जनतालाई नयाँ, समुन्नत, आर्थिक समृद्धि अनि सुशासन जस्ता धरातल विहीन दिवा सपना जस्तै एजेण्डा सामाजिक सञ्जालमा फिंजाएर रास्वपाले देशव्यापी लहरहरू सिर्जना गरिरहेको छ । तत्काल रास्वपाले नीतिगत निर्णयहरू र आफ्ना एजेण्डाहरू नसच्याउने हो भने यही फागुन २१ गते हुन गइरहेको आम निर्वाचन वर्तमान संविधान र अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गतको अन्तिम निर्वाचन हुनेछ । जनतालाई देखाइएको अत्यधिक आशा, लहैलहैमा लागेर जनताले गरेको अत्यधिक विश्वासको भारीले थिचिएर रास्वपा आफैं सकिनेछ । हो त्यतिबेला रास्वपा मात्रै सकिंदैन जनताको विश्वास पनि सकिने छ र वर्तमान संविधान अनि शासन व्यवस्था सबै खरानी भएको हेर्न धेरै समय कुर्नु पर्ने छैन । सबैलाई चेतना भया ।












