निर्जीवन बीमा कम्पनीले बागमती प्रदेशमा मात्रै गरे १९ अर्बको व्यवसाय, अन्य प्रदेशमा कति?

१२ फाल्गुन २०८२, मंगलवार १२:४३

काठमाडौं । निर्जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेका निर्जीवन बीमा कम्पनीहरूले (१४ निर्जीवन बीमा कम्पनी र ४ लघु निर्जीवन बीमा कम्पनी) चालू आर्थिक वर्षको माघ मसान्तसम्म विभिन्न निर्जीवन बीमालेख बिक्री गरेर कुल २८ अर्ब २७ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

कम्पनीहरूले सम्पत्ति, सामुन्द्रिक, हवाई, मोटर, इन्जिनियरिङ्ग तथा ठेक्का जोखा, विविध, कृषि तथा बाली र लघु बीमालेख बिक्री गरी उक्त परिमाणको बीमाशुल्क संकलन गरेका हुन्।

प्रदेशगत विवरणअनुसार बागमती प्रदेशबाट सबैभन्दा बढी १९ अर्ब २९ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन भएको छ। देशको राजधानी रहेको, औद्योगिक तथा व्यावसायिक गतिविधि उच्च रहेको र सवारी साधनको चाप बढी भएकाले यस प्रदेशमा निर्जीवन बीमाको कारोबार उल्लेख्य मात्रामा भएको देखिन्छ।

दोस्रो स्थानमा लुम्बिनी प्रदेशबाट २ अर्ब ४० करोड ८६ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ भने तेस्रोमा कोशी प्रदेशबाट २ अर्ब ३७ करोड ८५ लाख रुपैयाँ, चौथोमा मधेश प्रदेशबाट १ अर्ब ८१ करोड ७९ लाख रुपैयाँ र पाँचौंमा गण्डकी प्रदेशबाट १ अर्ब ४१ करोड ८९ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट ६८ करोड ७७ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट सबैभन्दा कम २६ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन भएको छ। बीमाशुल्क संकलनमा मोटर बीमा र सम्पत्ति बीमाले उल्लेख्य योगदान दिएका छन्। सवारी साधनको संख्या वृद्धि, औद्योगिक प्रतिष्ठानको विस्तार तथा पूर्वाधार निर्माण कार्यको वृद्धिले निर्जीवन बीमाको माग र व्यवसाय बढ्दै गएको देखिन्छ।

भौगोलिक विकटता र पूर्वाधारको सीमितता रहेका प्रदेशहरूमा पनि बीमा कम्पनीहरूले अभिकर्तामार्फत सेवा विस्तार गर्दै सर्वसाधारणको सम्पत्ति, सवारी साधन तथा व्यवसायको जोखिम सुरक्षामा योगदान पुर्‍याउँदै ठूलो मात्रामा व्यवसाय भित्र्याउँदै आएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*