सामसङद्वारा नयाँ ग्यालेक्सी फोनका लागि ‘प्रि–रिजर्भ’ अफर घोषणा

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले आफ्नो आगामी ग्यालेक्सी स्मार्टफोन सार्वजनिक गर्नु अघि नै ग्राहकहरूका लागि विशेष अग्रिम दर्ता ‘प्रि–रिजर्भ’ योजना घोषणा गरेको छ। कम्पनीले यस योजनालाई “ह्यान्ड रेजर” अफर नाम दिएको छ।
यस योजनाअन्तर्गत ग्राहकहरूले नयाँ ग्यालेक्सी स्मार्टफोन आधिकारिक रूपमा बजारमा आउनु अघि नै दर्ता गर्न सक्नेछन्। अग्रिम दर्ता गर्ने ग्राहकहरूले अधिकतम २० हजार ९९९ रुपैयाँ बराबरका सुविधा पाउने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ग्राहकहरूले आफ्नो योग्य पुरानो स्मार्टफोन साटेर नयाँ उपकरणका लागि अग्रिम बुकिङ गर्न सक्नेछन्। यस क्रममा १ टेराबाइटसम्मको अतिरिक्त भण्डारण (मेमोरी) सुविधा (करीब १५ हजार रुपैयाँ बराबर) तथा ६० वाटको फास्ट चार्जर (करीब ५ हजार ९९९ रुपैयाँ बराबर) उपलब्ध गराइनेछ। यो साटफेर सुविधा ग्यालेक्सी एस२३, एस२४ र एस२५ श्रृंखलाका फोनहरूका साथै एप्पल इन्क का आईफोन १४, १५ र १६ प्रयोगकर्ताका लागि उपलब्ध हुने सामसङले बताएको छ।
अग्रिम दर्ता योजना २३ फेब्रुअरीदेखि २६ फेब्रुअरी सम्म मात्र लागू हुनेछ। यस अवधिमा ग्राहकहरूले आफ्नो पुरानो फोन साटेर नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधियुक्त स्मार्टफोनका लागि दर्ता गर्न सक्नेछन्।
सामसङ मोबाइल विभागका निर्देशक प्रणय रत्न स्थापितका अनुसार यो योजना कम्पनीप्रति विश्वास राख्ने ग्राहकलाई प्राथमिकता दिन ल्याइएको हो। उनले नयाँ प्रविधिमा सजिलो रूपमा स्तरोन्नति गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। ग्राहकहरूले कम्पनीको वेबसाइटमार्फत अनलाइन दर्ता गर्न सक्नेछन्।
सामसङका अनुसार आधिकारिक विक्रेता केन्द्रहरूमा हुलास फिनर्स हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित किस्ता सेवामार्फत नयाँ ग्यालेक्सी स्मार्टफोन खरीद गर्न सकिनेछ। यस योजनामा कुनै ब्याज र प्रारम्भिक भुक्तानी विना नै २४ महिनासम्म किस्तामा तिर्न सकिने सुविधा उपलब्ध हुनेछ।












