घरजग्गा कारोबारमा पारदर्शिता : इजाजतपत्र प्रणाली कडाइका साथ लागू, ३६ कम्पनीले पाए अनुमति

१२ फाल्गुन २०८२, मंगलवार १४:४६

काठमाडौं। घरजग्गा कारोबारलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यले सरकारले इजाजतपत्र प्रणाली कडाइका साथ लागू गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक सूचना जारी गर्दै अब वैध अनुमतिपत्र प्राप्त गरेका व्यक्ति वा कम्पनीले मात्रै घरजग्गा किनबेच, दलाली र मध्यस्थताको कारोबार गर्न पाउने स्पष्ट पारेको हो।

जारी सूचनामा इजाजतपत्र नलिई घरजग्गा कारोबार सञ्चालन गर्ने, विज्ञापन गर्ने वा सेवाग्राहीसँग आर्थिक लेनदेन गर्ने कार्य गैरकानुनी हुने उल्लेख गरिएको छ। त्यस्ता व्यक्ति वा संस्थामाथि प्रचलित कानुनअनुसार जरिवाना, दण्ड र अन्य कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।

विभागका अनुसार पछिल्लो समय घरजग्गा कारोबारको नाममा ठगी, दोहोरो बिक्री, अवैध अग्रिम असुली र कागजात दुरुपयोगका घटना बढेका छन्। सेवाग्राहीको हित र अनियमितता न्यूनीकरणका लागि इजाजतपत्र प्रणाली प्रभावकारी रूपमा लागू गरिएको हो। अब घरजग्गा कारोबार गर्न चाहने कम्पनी वा फर्मले तोकिएको प्रक्रिया पूरा गरी अनुमतिपत्र लिनुपर्नेछ।

सेवाग्राहीलाई कारोबार अघि सम्बन्धित कम्पनी वा एजेन्टसँग वैध अनुमतिपत्र भए नभएको यकिन गर्न विभागले आग्रह गरेको छ। अनुमतिपत्र प्राप्त कम्पनीहरूको अद्यावधिक सूची विभागको आधिकारिक वेबसाइटमा उपलब्ध छ।

यो प्रणालीले घरजग्गा कारोबारलाई औपचारिक र कर प्रणालीभित्र ल्याउन सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ। साथै, कुनै पनि सेवाग्राही ठगीमा परे वा शंका लागेमा सम्बन्धित निकायमा उजुरी दिन सक्ने व्यवस्था रहेको सूचनामा उल्लेख छ।

हालसम्म घरजग्गा कारोबारका लागि ३६ कम्पनीले विभागबाट अनुमतिपत्र प्राप्त गरेका छन्। ती कम्पनीहरूमा हिमालयन रियलटर्स प्रालि, कन्टिनेन्टल रियल इस्टेट प्रालि, एसके होम रियल स्टेट कम्पनी प्रालि, रुबी क्राउन प्रोपर्टिज प्रालि, नन्दी रियल इस्टेट प्रालि, ई–गुराास प्रोपर्टी सोलुसन्स प्रालि, जमिनदार रियल इस्टेट प्रालि, तिलोत्तमा बिल्डर्स प्रालि, रियल इस्टेट एजेन्सी प्रालि, बुस्पाइरप रियल इस्टेट प्रालि, अशोक घर संसार नेपाल प्रालि, पानस बिज सर्भ प्रालि, लुम्बिनी रियल स्टेट एन्ड मल्टिपर्पोज, कृष्णा डेभलपर्स प्रालि, ज्ञान इको इन्नोभेसन इन्भेस्टमेन्ट नेपाल, भूमिराज एस्टेट्स, दले भाइ रियल इस्टेट प्रालि, स्काई वल्र्ड रियल स्टेट सोलुसन प्रालि, एम्पायर रियल स्टेट डेभलपमेन्ट प्रालि, नेपाल ल्यान्ड ब्रोकर, डीएन ग्रुप अफ कम्पनी प्रालि, भोजपुर सिद्धकाली हाउजिङ प्रालि, प्रुडेन्सियल डेभलपर्स प्रालि, चार्टर्ड रियल इस्टेट प्रालि, घरजग्गा सेवा प्रालि, ओमोगा क्यापिटल एडभाइजर्स प्रालि, ऋतम्भरा मल्टिपर्पोज इन्भेस्टमेन्ट प्रालि, मेट्रो लिंक प्रोपर्टिज प्रालि, विराट रियल स्टेट एन्ड हाउजिङ, सम्पत्ति रियल इस्टेट प्रालि, रियल इस्टेट सारथि, प्रसिद्ध इन्भेस्टमेन्ट कम्पनी प्रालि, एकर्स नेपाल स्टेट प्रालि, मस्र्याङ्दी डेभलपमेन्ट एन्ड रिसर्च, सेरेन इस्टेट्स प्रालि र घरबारी सेवा रहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*