देश–विदेशबाट सावित्रा भण्डारीका लागि २४ घण्टामा साढे एक करोड संकलन

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (सांबा) को उपचारका लागि एकदिनमै डेढ करोड रुपैयाँ संकलन भएको छ। सामाजिक सञ्जालमार्फत उनले नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममार्फत ४५ लाख रुपैयाँ (५२ हजार न्यूजल्यान्ड डलर) जम्मा भएको जानकारी दिएकी छन्।
साम्बाले फेसबुकमा लेखेकी छन्, ‘मलाई प्रायोजन गर्नुहुने संस्था र नेपालका धेरै संघ–संस्थाले नगद तथा सुविधा सहयोगको वाचा गर्नुभएको छ। यसले मेरो उपचार खर्च मात्र नभएर कतारमा उपचारका क्रममा लाग्ने आवास र यातायात खर्च पनि पूरा गर्न पुग्ने देखिन्छ।’
उक्त रकम उठिसकेकाले अब सहयोग आवश्यक नहुने भन्दै उनले दुवै अकाउन्टमा सहयोग रकम रोकिदिन आग्रह गरेकी छन्।
साथै, कतारमा रहेका विभिन्न व्यक्ति र संस्थाले पनि सहयोगको वाचा गरेको साम्बाले बताइन्। उनले पुनः नेपालको जर्सी लगाएर मैदानमा उत्रने प्रतिबद्धता समेत जनाएकी छन्।












