टक्सार पिखुवा खोला हाइड्रोपावरले फागुन २७ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले फागुन २७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४२ लाख ३० हजार ६६८ कित्ता आईपीओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। जसमध्ये १२ लाख कित्ता आईपीओ आयोजना प्रभावितका लागि र ३ लाख ३ हजार ६७ कित्ता आईपीओ वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि निष्काशन गर्न लागेको हो।
आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको आईपीओमा भोजपुर जिल्लाका स्थानीय बासिन्दाहरूले र वैदेशिक रोजगारतर्फको आईपीओमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूले आवेदन दिन सक्नेछन्।
त्यसैगरी कम्पनीले १ लाख ५१ हजार ५३३ कित्ता आईपीओ सामूहिक लगानी कोषहरूका लागि र ६० हजार ६१३ कित्ता आईपीओ कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी सम्पूर्ण कित्ता दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गर्नेछ।
यो आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभाविततर्फको आईपीओ निष्काशन बन्द छिटोमा चैत ११ गते र ढिलोमा चैत २६ गते हुनेछ भने वैदेशिक रोजगारीतर्फको आईपीओ निष्काशन बन्द छिटोमा चैत १ गते र ढिलोमा चैत ११ गते हुनेछ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई “केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग” प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।
आयोजना प्रभावितले बिक्री प्रबन्धकका साथै आयोजना कार्यालय, भोजपुर, प्रभु बैंकको भोजपुर, प्याउली, हटुवागढी र सिटिजन्स बैंकको भोजपुर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारेले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।












