आईएमई र टिक्मोबीच साउदी–नेपाल डिजिटल रेमिट्यान्स साझेदारी

१४ फाल्गुन २०८२, बिहीबार ११:३४

काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई र साउदी अरेबियाको प्रतिष्ठित डिजिटल वालेट ‘टिक्मो’बीच डिजिटल कारोबार विस्तारको लागि सम्झौता सम्पन्न भएको छ । माघ २७ गते साउदी अरेबियाको राजधानी रियादमा आयोजित एक विशेष समारोहका बीच दुई कम्पनीबीच साझेदारीको औपचारिक सम्झौता भएको हो ।

सम्झौता पत्रमा आइएमईका अध्यक्ष हेमराज ढकाल र टिक्मोका प्रबन्ध निर्देशक अब्दुलअजीज अज्लान अल्अज्लानले हस्ताक्षर गरे । उक्त समारोहमा साउदी अरबका लागि नेपालकी कार्यवाहक राजदूत सिर्जना अधिकारी, आइएमईका कार्यकारी अधिकृत दिवाकर पौड्याल लगायत दुवै कम्पनीका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

साउदी अरब हाल आफ्नो भिजन २०३० मार्फत नगदरहित समाजतर्फ लम्किरहेको छ। अर्कोतर्फ नेपालमा पनि डिजिटल वित्तीय पहुँच अब एउटा लक्ष्य मात्र नभई यथार्थ बन्दै गएको छ। यस्तो अवस्थामा  रेमिट्यान्स क्षेत्रको विश्वसनीय नाम आइएमई र आधुनिक प्रविधिमा आधारित डिजिटल इकोसिस्टम टिक्मोबीचको यो सहकार्यले साउदीको मरुभूमि र नेपालको पहाडबीचको दूरीलाई थप कम गर्ने विश्वास लिइएको छ ।

दशकौंदेखि नेपाल र साउदी अरेबियाको सम्बन्धलाई शारीरिक श्रम र परम्परागत रेमिट्यान्सका माध्यमले मात्र चिनिँदै आएकोमा अब यो साझेदारीले एक ‘डिजिटल वित्तीय कोरिडोर’ निर्माण गरेको छ । यसले आर्थिक स्थिरता, डिजिटल सशक्तीकरण र सहज वित्तीय आबद्धतालाई प्रवर्द्धन गर्ने दुवै पक्षको दाबी छ ।

सम्झौता सँगै आइएमईले साउदीमा रहेका नेपालीहरूका लागि ‘टिक्मो मार्फत आइएमई गरौँ, उपहार जितौँ’ नामक प्रवद्र्धनात्मक योजना पनि सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत साउदी अरबमा रहेका नेपालीहरूले टिक्मो एप प्रयोग गरी आइएमई मार्फत नेपालमा पैसा पठाउँदा विभिन्न आकर्षक उपहारहरू जित्ने अवसर पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*