फागुन २० गते राति १२ बजेबाट सार्वजनिक–निजी सवारी सञ्चालनमा रोक

काठमाडौं। निर्वाचन आयोगले फागुन २० गते राति १२ बजेबाट फागुन २१ गते मतदान सम्पन्न नभएसम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ। आयोगका सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार यसमा अत्यावश्यक सेवाका सवारीसाधन, कूटनीतिक नियोगका सवारीसाधन र निर्वाचनका लागि पास प्राप्त सवारीबाहेक अन्य सबै सवारीसमेत रोकमा पर्नेछ।
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचनको दिन शान्ति, सुरक्षा र प्रभावकारी व्यवस्थापन सुनिश्चित गर्न ७७ वटै जिल्लामा आवश्यक सुरक्षा संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ। सोहीअनुसार मतदानको सात दिन अघिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादकपदार्थको बिक्री, वितरण तथा सेवनमा प्रतिबन्ध लगाउने गृहमन्त्रालयलाई पत्र पठाइनेछ।
जिल्ला आचारसंहिता अनुगमन समितिले निर्वाचन ऐन र आचारसंहितामा निषेध गरिएका कार्य हुन नदिन तोकिएका व्यक्ति तथा संयन्त्र परिचालन गर्नेछन्। उल्लंघन देखिएमा प्रचलित कानुनअनुसार तत्काल कारबाही गरी आयोगलाई जानकारी गराउनुपर्ने व्यवस्था समेत तय गरिएको छ।
निर्वाचन प्रचारप्रसार निषेध अवधि फागुन १८ गते राति १२ बजेबाट लागू हुनेछ। यस अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना सुनिश्चित गर्न प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिइएको छ।
मतदानको दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानहरू सञ्चालन हुनेछन्। टिकटधारी यात्रुहरूलाई विमानस्थल–घर/होटल–विमानस्थल यात्रा गर्न सम्बन्धित एयरलाइन्स वा निजी सवारी प्रयोग गर्न दिइने व्यवस्था गरिएको छ।
निर्वाचन मितिभन्दा ७२ घण्टा अघि अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने व्यवस्था पनि आयोगले ७७ जिल्लाका प्रशासन कार्यालयलाई जानकारी गराइसकेको छ।
मतदाताले मतदान गर्न आफ्नो मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपत्र वा सवारी चालक अनुमति पत्र जस्ता कागजातहरू ल्याएर मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ।
निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मतदानको दिन जारी गर्ने सवारी पास वितरणका लागि आयोग सचिवालय परिसरमा विशेष पास वितरण इकाई सञ्चालन गर्नेछ। यसमा आयोग र जिल्ला प्रशासन कार्यालयका कर्मचारी सहभागी हुनेछन्।












