लगातार चौथो दिन समेत हरियाली बजारः निर्जीवन बीमा र फाइनान्स समूहमा चमक, चुनावअघि कस्तो होला ?

१४ फाल्गुन २०८२, बिहीबार १५:०४

काठमाडौँ । नेपाली शेयर बजारमा लगातार चौथो दिन सुधार देखिएको छ । गत साता निरन्तर खुम्चिएको बजारमा यो साता हरियाली देखिन थालेको हो । प्रतिनिधि सभाको चुनाव हुन एक हप्ता मात्र बाँकी रहँदा अब बजार दुई दिनमात्र खुल्ने छ । यसै क्रममा बजारले चुनावअघि सकारात्मक संकेत देखाउँदै लगानीकर्तामा सानो आशावाद जगाएको छ ।

तर, राजनीतिक अस्थिरता र नीति स्पष्टताको अभावले बजारमा सतर्कता कायम राखेको छ । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा कुनै दलले स्पष्ट बहुमत पाउने सम्भावना कम देखिँदैछ । यसले निर्वाचनपछिको सरकारको नीतिगत दिशामा अनिश्चितता बढाएको छ र बजारमा उतारचढाव सिर्जना गरेको छ।

साना नाफा बुकिङले पनि बजारमा दबाव सिर्जना गरेको छ। लगानीकर्ताले चुनावपछिको सरकारलाई लिएर केही पर्ख र हेरको नीति अपनाएका छन्। यस कारणले दैनिक कारोबार रकममा केहि खुम्चि देखिएको छ। तर सुधारको संकेतले दीर्घकालीन दृष्टिले लगानीकर्तामा भरोसा जगाउने सम्भावना राखेको छ।

बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर न्यून बिन्दुमा ल्याइसकेका छन्। नियामक निकायले पुँजी बजारप्रति सकारात्मक र उदार नीति लागू गर्दै आएका छन् भने हरेक राजनीतिक दलले शेयर बजारका मुद्धालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्। यी पहलहरूले दीर्घकालीन रूपमा बजारमा स्थायित्व र सुधार ल्याउने अपेक्षा गरिएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.०३ अकंले बढेर २६५४.९३ बिन्दुमा कायम भएको छ । आज३३५ कम्पनीको १ करोड ५३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १७ करोड ४६ लाख ३० हजार रुपैयाँको कारोबार भएको हो ।

यसदिन निर्जीवन बीमा समूह र फाइनान्स समूहको शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । निर्जीवन समूहको १.०९ प्रतिशत र फाइनान्स समूहको ०.७१ प्रतिशतले शेयर मूल्य बढेको छ । आज ४ उपसूचक भने ओरालो लागेको देखिएको छ ।

बिहिबार १३७ कम्पनीको शेयर मूल्य बढेको छ भने ११८ कम्पनीको घटेको छ । ७ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*