ग्रहदशा बिग्रेको भन्दै बीमा प्राधिकरणमा पुजा

१४ फाल्गुन २०८२, बिहीबार १५:३१

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा ग्रहदशा बिग्रेको भन्दै पुजा लगाएको पाइएको छ । घर पुजा गर्ने तयारीमा लागेको प्राधिकरणले पछिल्लो एक बर्ष प्राधिकरणमा भएका गतिविधिहरुको मध्यनजर गर्दैै वास्तुसँग सम्बन्धीत पुजा समेत लगाएको पाइएको हो ।

पछिल्लो समय प्राधिकरणको अस्थिर अध्यक्ष नियुक्ति प्रकरणदेखि निर्णायक गतिविधिमाथि नै प्रश्न उठेपछि वास्तुगत हिसाबबाट शुद्धिकरण सहित लाखबत्ति, रुद्री पुजा समेत लगाइएको छ ।

बीमा प्राधिकरणका केही कर्मचारीहरुले भने विचौलियाको इशारामा चल्ने उच्च व्यवस्थापकले नै ग्रहदशा बिग्रेको भन्दै पुजा लगाएको प्रतिकृया दिएका छन् । बीमा प्राधिकरणका एक कर्मचारीका अनुसार अध्यक्षको कार्यकक्षमा वास्तुशास्त्रको हिसाबाट वास्तुशास्त्र निमिलेको भन्दै वास्तु अन्तर्गतको पूजा गरी शुद्धिकरण समेत गरिएको बुझिएको छ।

नयाँ भवन निमार्ण सम्पन्न नहुँदै पुरानो भवनको अधिकांश अध्यक्ष तथा अन्य पदाधिकारीहरु पनि नयाँ भवनबाट काम गर्न सुरु गरिएको थियो । घरपूजा नगरी पुरानो भवन भत्काउन पर्ने भएको कारण सार्न हतार गर्दा प्राधिकरणमा नियामकियदेखि व्यवस्थापकीय पक्षसम्म समस्या भएको भन्दै पुजा लगाइएको प्राधिकरणका एक उच्च पदाधिकारीले बीमापोष्टलाई बताएका छन् ।

शहरी विकास विभागले निर्माण गरिरहेको भवनका धेरै कामहरु अझै गर्न अझै पनि बाँकी नै छ । भवन निमार्णकै क्रममा २०८१ साल असोजमा नै पुरानो भवनका सबै सामान सारिएको थियो । नयाँ भवनभित्र प्रवेश गर्ने मुख्यद्वार बनाउन पुरानो भवनले छेकेपछि उक्त भवन भत्काउन लागिएको कारण हतारमा पूर्व अध्यक्ष सूर्य सिलवालको निर्देशनमा सारिएको थियो । घरपूजा सम्पन्न नगरी हतारमा सरेको कारण नै वास्तुमा समस्या देखिएको प्राधिकरणका पदाधिकारीहरुको बुझाईपछि पुजा लगाइएको हो ।

पूजामा बीमा प्राधिकरणका पूर्व अध्यक्ष पदाधिकारी र सिमित बीमा कम्पनीका सिईओहरु पनि बेलाइएको थियो ।यो बर्षमात्रै बीमा प्राधिकरणमा ६ जना अध्यक्ष फेरिएका छन् । नेपाल सरकारले कर्मचारीलाई प्राधिकरणको जिम्मेवारी दिएर प्राधिकरणको स्वायत्ततामाथि प्रहार गर्दै आएको आरोप लगाएको छ भने प्राधिकरणमा अर्थदेखि राजस्वको पार्ट टाइम काम गर्ने थलो बनाएको भन्दै चर्को आलोचना समेत भएको थियो । यसअघि गत असोज ९ गतेको मन्त्रिपरिषद् बैठकले जनकराज शर्मालाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो । शमा अर्थमन्त्रालयका सहसचिव हुँदा प्राधिकरणको अध्यक्ष बनेका थिए ।

त्यसअघि अर्थात् असार ३० गते सहसचिव सेवन्तक पोखरेललाई अध्यक्षमा नियुक्त गरेको थियो ।गत असार ३० गते सरकारले प्राधिकरणका तत्कालीन अध्यक्ष शरद ओझाको योग्यतामाथि छानबिन गर्ने निर्णय गरेसँगै ओझा स्वतः निलम्बनमा परेका थिए ।

बीमा ऐन, २०७९ को दफा ७ को १ मा समितिको अध्यक्ष नियुक्तिको लागि नेपाल सरकारसमक्ष नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा मन्त्रालयका सचिव र बीमा क्षेत्रसँग सम्बन्धित विशेषज्ञ सदस्य रहेको एक समिति रहने र सो समितिले सिफारिस गरेको तीन जना व्यक्तिबाट मन्त्रिपरिषद् बैठकले एक जनालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्न सक्ने व्यवस्था छ ।तर, अर्थमन्त्रालयले भने विभिन्न कमजोरीको फाइदा उठाउँदै एकपछि अर्को आफ्ना कर्मचारीलाई प्राधिकरणको अध्यक्ष बनाएर पठाइरहेको छ।

अध्यक्षको अस्थिर नियुक्ति प्रकरणको कारण प्राधिकरणमा निति निमार्ण र कारवाहीको काममा समेत बाधा आएसँगै पछिल्लो समय प्राधिकरणको नियामकिय क्षमतामाथि नै प्रश्न उठेसँगै प्राधिकरणका उच्च तहका कर्मचारीहरुले वास्तु अन्तर्गत समेत पूजा लगाएको पाइएको छ । यता प्राधिकरणका कर्मचारीहरु भने उच्च व्यवस्थापक स्वार्थ समूहको पछाडि नलागेर स्वच्छ रुपमा काम गर्ने हो भने वास्तु स्वतः ठिक हुने तर्क गर्छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*