उडानमा उकालो लाग्दै नेपाल वायुसेवा निगम : अर्धवार्षिक आम्दानी ७% वृद्धि

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को चालु आर्थिक वर्षको अर्धवार्षिक कार्यसम्पादनमा उल्लेखनीय सुधार देखिएको छ। निगमले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि पुस मसान्तसम्मको अवधिमा आम्दानी र यात्रु संख्या दुवैमा उत्साहजनक वृद्धि भएको हो।
गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिसँग तुलना गर्दा चालु आवको पहिलो छ महिनामा निगमको कुल आम्दानी करिब सात प्रतिशतले बढेको छ। त्यस्तै, यात्रु संख्या करिब १८.७ प्रतिशतले वृद्धि भएको देखिएको छ। पछिल्लो समय उडान व्यवस्थापनमा सुधार, उपलब्ध जहाजको अधिकतम उपयोग तथा गन्तव्य व्यवस्थापनमा गरिएको समन्वयका कारण यस्तो प्रगति सम्भव भएको निगमले जनाएको छ।
निगमका अनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै क्षेत्रका उडानहरूमा यात्रुको चाप बढ्दो क्रममा रहेको छ। उडान तालिका नियमित बनाइनु, प्राविधिक तयारी सुदृढ पारिनु र बजार प्रवर्द्धनका गतिविधि प्रभावकारी ढंगले सञ्चालन गरिनुले यात्रुको विश्वास पुनःस्थापित हुन थालेको दाबी गरिएको छ।












