ओरिएण्टल इन्स्योरेन्सद्वारा डिजिटल बीमा प्लेटफर्म सुरु, अनलाइन सेवा सजिलो र पारदर्शी

काठमाडौँ । ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा बीमा सेवाको आधुनिकीकरणतर्फ महत्वपूर्ण कदम चाल्दै आफ्नो उन्नत डिजिटल बीमा प्लेटफर्मको औपचारिक शुभारम्भ गरेको छ। कम्पनीले सार्वजनिक गरेको नयाँ डिजिटल प्रणालीमार्फत ग्राहकहरूले बीमा सेवा सहज, छिटो र पारदर्शी रूपमा प्राप्त गर्न सक्ने जनाइएको छ।
नयाँ प्लेटफर्ममार्फत अब ग्राहकहरूले अनलाइनबाटै बीमा पोलिसी खरिद गर्न सक्नेछन्। यसैगरी, डिजिटल माध्यमबाट बीमा दाबी दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। दाबी प्रक्रियालाई थप पारदर्शी र प्रभावकारी बनाउन ग्राहकहरूले आफ्नो दाबीको अवस्था रियल–टाइम पद्धतिमार्फत अनुगमन गर्न सक्नेछन्। दाबीसम्बन्धी आवश्यक कागजातहरू समेत अनलाइनमार्फत अपलोड गरी पेश गर्न सकिने सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार नियुक्त गरिएका बीमा दाबीसँग सम्बन्धित सर्वेयरहरूले आफ्नो सर्वे प्रतिवेदन कम्पनीको सुरक्षित पोर्टलमार्फत प्रत्यक्ष रूपमा अपलोड गर्न सक्नेछन्। यस व्यवस्थाले दाबी प्रक्रियामा छिटो समन्वय गर्न सहयोग पुर्याउने र समग्र प्रक्रिया अझ प्रभावकारी बन्ने विश्वास गरिएको छ।
डिजिटल रूपान्तरणको यस पहलले शाखा कार्यालयमा भौतिक उपस्थितिको आवश्यकता हटाउने, कागजी कार्य घटाउने तथा ग्राहकको मूल्यवान समय बचत गर्ने अपेक्षा गरिएको छ। कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा यो प्लेटफर्मले पारदर्शिता, दक्षता र पहुँचयोग्यता सुनिश्चित गर्दै बीमा सेवालाई जुनसुकै समय र स्थानबाट ग्राहकसम्म पुर्याउने उल्लेख गरिएको छ। नेपालको बीमा बजारका लागि यो प्रयास कोसेढुंगा सावित हुने कम्पनीको दाबी छ।
कम्पनीले विश्वसनीय बीमा समाधान प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै डिजिटल युगमा ग्राहकका परिवर्तित आवश्यकताहरू पूरा गर्न निरन्तर अग्रसर रहने जनाएको छ। ग्राहकहरूले सेवा लिनका लागि कम्पनीको अनलाइन पोर्टल https://digi.orientalinsurance.com.np/ मा प्रवेश गर्न सक्नेछन्। साथै “Oriental Nepal DigiCare” मोबाइल एपमार्फत पनि सेवा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। कम्पनीको नयाँ वेबसाइट https://www.orientalinsurance.com.np/ मार्फत समेत आवश्यक जानकारी तथा सेवा लिन सकिने जनाइएको छ।












