नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४१ औँ वर्षमा प्रवेश, डिजिटल रूपान्तरण र समाजसेवामा सक्रिय

१४ फाल्गुन २०८२, बिहीबार १६:१७

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ४१ औँ वार्षिकोत्सव मनाउँदै चार दशकभन्दा लामो सफल बैंकिङ यात्रामा ग्राहक, सेयरधनी, नियामक निकाय, साझेदार संस्था र सम्पूर्ण कर्मचारीहरूको योगदानप्रति आभार व्यक्त गरेको छ। बैंकले आफ्नो स्थायी वित्तीय उपस्थिति र विश्वासयोग्य सेवा प्रवाहलाई आधार मानेर आगामी दिनमा अझ पारदर्शी, जिम्मेवार र नवप्रवर्तनमुखी बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले यस अवसरमा बैंकको सफल यात्रामा साथ दिने सबैप्रति कृतज्ञता व्यक्त गर्दै भविष्यमा बैंकिङ सेवामा नवीनता र गुणस्तर अभिवृद्धि गर्ने प्रतिबद्धता दोहोर्याए। प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले डिजिटल रूपान्तरणमा तीव्रता दिने र ग्राहक अनुभवलाई अझ सरल, सुरक्षित तथा प्रभावकारी बनाउने लक्ष्य राखेको बताए। ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारासहित बैंकले ग्राहक सुविधालाई प्राथमिकता दिँदै नवीनतम बैंकिङ सेवा निरन्तर प्रस्तुत गर्ने जानकारी पनि उनले दिए।

वार्षिकोत्सवको अवसरमा बैंकले विगत आठ वर्षदेखि वित्तीय साक्षरतामा आधारित चित्रकथा पुस्तक प्रकाशन गर्दै आएको छ। यस वर्षको आठौँ संस्करण ‘३ आर सुन्दर संसार’मा वातावरणीय प्रदूषण, प्राकृतिक स्रोत संरक्षण र ग्लोबल वार्मिङ जस्ता विषयलाई सरल, रोचक र ज्ञानवर्धक शैलीमा प्रस्तुत गरिएको छ। बैंकले बालबालिकामा वातावरणीय चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पुस्तक प्रकाशन गरेको जनाएको छ।

त्यसैगरी, वार्षिकोत्सव दिवसमा बैंकले नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गर्दै रक्तदान कार्यक्रम पनि आयोजना गरेको थियो। कार्यक्रममा बैंकका कर्मचारीहरूले सक्रिय सहभागिता जनाएका थिए, जसले सामाजिक उत्तरदायित्व र मानव कल्याणमा बैंकको प्रतिबद्धता देखाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*