प्रधानसेनापतिद्वारा सुदूरपश्चिममा निर्वाचन सुरक्षा निरीक्षण, त्रुटिरहित व्यवस्थापनका लागि निर्देशन

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले बिहीबार कैलालीको तेघरीस्थित सुदूरपश्चिम पृतनामा प्रदेश सुरक्षा संयन्त्रसँग आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र सुरक्षा व्यवस्थापना सम्बन्धी छलफल गरेका छन्।
निरीक्षणका क्रममा प्रधानसेनापति सिग्देलले निर्वाचन सुरक्षा त्रुटिरहित रूपमा सम्पन्न गरिनुपर्ने निर्देशन दिएका छन्। छलफलपछि सुदूरपश्चिम पृतनाले मातहत युनिटलाई आवश्यक निर्देशन दिएको जनाएको छ। सो अवसरमा कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीहरू पनि सहभागी थिए।
सुदूरपश्चिममा निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै नेपाली सेनाले क्षेत्रका कारागार, विमानस्थल तथा धनगढीस्थित आयल निगमको डिपोको सुरक्षा जिम्मेवारी लिइसकेको छ। साथै, नौ वटै जिल्लामा गस्ती बढाइएको र निर्वाचनका लागि आवश्यक तयारी पूरा भएको पृतनाले जानकारी दिएको छ।












