जीवन बीमा कम्पनीहरुको व्यवसाय माघ महिनामा १३%ले बढ्यो, आइएमई र रिलायबलको सर्वाधिक बृद्धि

१५ फाल्गुन २०८२, शुक्रबार ११:२६

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ महिनामा १६ अर्ब ६७ करोड रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।

विवरण अनुुसार गत आर्थिक वर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय १३.२८ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिमा १४ अर्ब ७२ करोड २८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेक थिए । कम्पनीहरुले आफ्नो बीमा व्यवसायलाई उल्लेख्य मात्रामा बृद्धि गराएका छन् ।

माघ महिनामा कुल बीमा शुल्क आर्जनको आधारमा नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स अग्रस्थानमा छन् भने बृद्धिदरका आधारमा आइएमई लाइफ इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स अघि रहेको छ । अभिकर्ताहरुलाई सक्रिय र क्षमतावान बनाउन नसकेको मेट लाइफ नेपालको बीमा व्यवसायमा गिरावट आएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले माघ महिनामा गत आर्थिक वर्षको तुलनामा आफ्नो व्यवसाय १५.१० प्रतिशतले बृद्धि गर्दै चार अर्ब ८ करोड ३५ लाख रुपैयाँ पुगाउँन सफल भएको छ ।

स्रोतः नेपाल बीमा प्राधिकरण

दोस्रो नम्बरमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले गत आवको तुलनामा १९.१० प्रतिशतले बढाएर एक अर्ब ९३ करोड ८० लाख रुपैयाँ र हिमालयन लाइफ इन्स्योरेन्सले १५.६६ प्रतिशतले व्यवसाय बढाएर एक अर्ब ८१ करोड ४९ लाख रुपैयाँ पुगाएको छ ।

त्यस्तै एलआइसी नेपालको कुल बीमा शुल्क आर्जन माघ महिनामा ५.९८ प्रतिशतले बढेर एक अर्ब ८१ करोड ३२ लाख रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको ११.०८ प्रतिशतले बढेर एक अर्ब २७ करोड ८९ लाख रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको १२.२६ प्रतिशतले बढेर ९९ करोड ५२ लाख रुपैयाँ र एशियन लाइफ इन्स्योरेन्सको ७.२२ प्रतिशतले बढेर ९२ करोड २२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन रहेको छ ।

समीक्षा अवधिमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सिटिजन लाइफ इन्स्योरेन्सको १६.२५ प्रतिशतले बढेर ६९ करोड ८८ लाख रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सको ४४.८२ प्रतिशतले बढेर ६७ करोड ८० लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १२.४० प्रतिशतले बढेर ६३ करोड ९८ लाख रुपैयाँको कुल बीमा शुल्क आर्जन रहेको छ ।

माघ महिनामा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको २३.७८ प्रतिशतले बढेर ५० करोड ४४ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ६.२१ प्रतिशतले बढेर ४५ करोड ८४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन रहेको छ । सन नेपाल लाइफ इन्स्योरेन्सले माघ महिनामा ३८ करोड ३५ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*