निर्वाचन खर्च पारदर्शी बनाउन उम्मेदवार र परिवारको बैंक खातामा निगरानी

१५ फाल्गुन २०८२, शुक्रबार १३:५३

काठमाडौँ ।  निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारका परिवारको बैंक खातामा निगरानी सुरु गरेको छ। आयोगले उम्मेदवार र राजनीतिक दललाई निर्वाचन खर्च बैंकिङ प्रणालीमार्फत गर्ने आदेश दिइसक्दा पनि धेरैले बैंक बाहिर खर्च गरेको पाइएको कारण निगरानी बढाइएको हो।

आयोगले निर्वाचन आचारसंहितामा चुनावी खर्च बैंक खातामार्फत गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको भए पनि यसको पालना नगरेका उम्मेदवारका बैंक खातामा अनुगमन सुरु गरिएको संयोजक सगुन शमशेर जबराले जानकारी दिए। उनले भने, ‘उम्मेदवारले गर्ने खर्च जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत अनुगमन हुँदैछ। सहायक प्रमुख जिल्ला अधिकारी निर्वाचन सामग्रीको खर्च अनुगमन गर्नुहुन्छ भने कोष तथा लेखा नियन्त्रण कार्यालयका अधिकृतले उम्मेदवारको वित्तीय अवस्थाको निगरानी गर्नुहुन्छ।’

जबराले उम्मेदवारले पुरानो खाता प्रयोग गरेर खर्च गरेकाले उनी र परिवारका खातामा निगरानी बढाइएको र आयोगले छुट्टै चुनावी खाता खोल्न निर्देशन जारी गरेको बताए। उनले चेतावनी दिँदै भने, ‘निर्देशन मान्नुभएन भने भविष्यमा निर्वाचन कसुरको ऐन अनुसार उम्मेदवारलाई ब्ल्याकलिस्टमा राखेर कारबाही गर्न सकिन्छ।’

आयोगले आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचन स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*