अमेरिका र इरानबीचको जेनेभा वार्ता अलपत्र, भीषण युद्धको तयारी

१५ फाल्गुन २०८२, शुक्रबार १६:१४

काठमाडौँ । अमेरिकी र इरानी अधिकारीहरूबीच जेनेभामा भएको तेस्रो चरणको अनौपचारिक वार्ता यतिबेला अलपत्र अवस्था छ । आणविक सम्झौताको प्राविधिक विषयमाथि आगामी साता छलफल गर्ने गरी जेनेभा वार्ता सकिए लगत्तै अमेरिकाले भीषण युद्धको तयारी सुरु गरेको छ । आजै बिहान इजरायल स्थित अमेरिकी राजदुतावासले आफ्ना कर्मचारीहरुलाई इजरायल छाड्न चाहेमा आजै जुनसुकै माध्यमबाट बाहिर निस्कन निर्देशन दिएका छन् । यसको कारण इरानसँग छिट्टै हुन सक्ने भीषण युद्धलाई हेरिएको छ ।

जेनेभामा ओमानको मध्यस्थतामा भएको वार्तामा दुबै पक्षले आ–आफ्नो अडान समात्ने प्रयास गरे पछि अन्तिम सहमति निस्कन सकेन । जेनेभा वार्ता इरानको आणविक गतिविधिलाई लिएर अमेरिका र अन्तर्राष्ट्रिय समुदायबिच उत्पन्न असहमति समाधान गर्ने उद्देश्यले आयोजना गरिएको थियो। संयुक्त राज्य अमेरिकाले बारम्बार चेतावनी दिँदै इरानको आणविक कार्यक्रम पारदर्शी र सीमित गर्न भन्दै आइरहेको थियो ।

अर्कोतिर, इरानले आफ्नो कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि मात्र रहेको दाबी गर्दै आएको छ । इरानी अधिकारीहरूले यसलाई ऊर्जा आवश्यकताका लागि र वैज्ञानिक अनुसन्धानका लागि प्रयोग भइरहेको बताएका छन् । इरानले आफ्नो यूरेनियम समृद्धि (एनरिचमेण्ट) कार्यक्रम जारी राख्ने स्पष्ट संकेत दिएपछि वार्ता अलपत्र भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

वार्ता असफल भएसँगै मध्यपूर्वमा अशान्ति मच्चीने भएको छ । अमेरिका–इरान दुवैले आ-आफ्नो सैन्य तयारीलाई तीव्र बनाइरहेका छन् । कस्ले सुरुमा आक्रामण गर्छ त्यो भने हेर्ने बाँकी छ । तर, तेस्रो चरणको अनौपचारिक बैठक समेत अलपत्र भएपछि मध्यपूर्व द्धन्द्ध तिर अघि बढेको देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*