नयाँ निर्वाचनले नयाँ द्वन्दको बिजारोपण गर्दै, देश थप अप्ठेरोमा फस्ने जोखिम

काठमाडौं । यही फागुन २१ गते हुन गइरहेको आम निर्वाचनले देशलाई समृद्धि, सुशासन र दीगो विकासको साटो नयाँ द्वन्दको बीऊ रोपेर वर्तमान संविधान र शासन व्यवस्थाको अस्तित्व नै खतरामा पार्नसक्ने जोखिम देखिन आएको छ ।
यतिबेला नेपाली आकाशमा दुई वटा सम्भावनाहरु एकैसाथ देखिएका छन् । पहिलो बालेन शाह नयाँ प्रधानमन्त्री बनेर देशलाई सुशासन, दीगो विकास तथा तीव्र विकास अनि समृद्धि ल्याउने र दोस्रो पछिल्लो आधा दशकदेखि जनताको असन्तुष्टि, पीडित जनतालाई लिएर अघि बढि रहेका दुर्गा प्रसाईलाई राजनीतिको मुलधार बाहिरै राखेर हुन लागेको निर्वाचनले नयाँ द्वन्दको बीजारोपण गर्ने ।
२०५१ सालमा बनेको एमालेको नौ महिने शासनमा गरिएको संसद बिघटनलाई खारेज गर्ने २०५२ भदौं १२ मा सर्वोच्च अदालतबाट भएको फैसला हेर्दा सामान्य थियो । तर, त्यसपछिको घृणित संसदीय अभ्यास र सोही बर्षको फागुन १ बाट सुरु भएको जनयुद्धले देश मात्रै तहस नहस भएन, सभ्यता, संस्कृति समेत मासिएर आज देश जर्जर अवस्थामा पुग्यो ।
परिणाममा २०५२ साल भदौं १२ को फैसला को जित्ने वा को हार्ने भयो होला । समग्रतामा देश सकाउने मार्ग त्यहीबाट खनिएको थियो ।
ठीक अहिले त्यस्तै भइरहेको छ । गत भदौं २३ र २४ भएको जेनजी आन्दोलन केवल ध्वंस मात्रै थिएन । जनतालाई हेर्ने शासकका आँखा, दृष्टिकोण, व्यवहारमाथि जनताले आगो लगाएर खरानी बनाएका थिए । प्रधानमन्त्री त भाग्नु पर्यो । मन्त्रीहरु लुकेर ज्यान जोगाउनु पर्ने अवस्था आयो । परिणाम २०८४ साल मंसिरमा हुनुपर्ने निर्वाचन २२ महिना अघि सारेर २०८२ फागुनमा गरिँदैछ ।

जेनजी आन्दोलनमा व्यक्त अभिमत केवल सत्ताको कुर्सीमा केपी ओलीलाई हटाएर बालेन शाह वा रवी लामिछानेलाई राख्नाका लागि थिएन ।
जेनजी आन्दोलन लगत्तै जसरी अपनत्व लिन होडबाजी चल्यो देश बनाउन त्यसैगरी होडबाजी चल्ने हो भने यो देशका करिब तीन करोड जनताले विहान उठ्दा समृद्धि देखिसक्नेछन् । तर, दुर्भाग्य अहिले त्यही दलाल, घुसपैठिया शासन व्यवस्थाको सबैभन्दा माथिल्लो कुर्सीमा पुग्नका लागि मात्रै यो आम निर्वाचन हुँदैछ । त्यसैले यसले निकास दिँदैन बरु नयाँ द्वन्दको सूत्रपात गर्नेछ । नयाँ द्वन्दको सूत्रपात गर्ने निर्वाचन गर्नुको कुनै औचित्य छैन । न यसमा मतदान गर्नुको नै औचित्य छ । सम्भवतः यो संविधान र शासन व्ययवस्थाको अन्तिम निर्वाचन यही फागुन २१ गते हुँदैछ ।
अहिले देशमा सबैभन्दा संगठित र चेन अफ कमाण्डमा कार्यकर्ताहरु राखेर राजनीतिक गतिविधि गर्ने दुई वटा समुह मात्रै छन् । पहिलो समुह माओवादी र दोस्रो समुह दुर्गा प्रसाई । माओवादीमा सेनाको फर्मेशनमा बसेर आएको हुनाले सञ्चार, चेन अफ कमाण्ड र आदेश कार्यान्वयन प्रभावकारी र द्रूत गतिमा गर्न सक्दछ ।
अर्को शक्ति भनेको दुर्गा प्रसाई समुह हो । विगत पाँच बर्षदेखि एनआईसी एसिया बैंकले आफ्ना ऋणीहरुमाथि गरेको दमन, उत्पीडन र अत्याचारका विरुद्धमा सुरु गरेको आन्दोलन, समग्र बैंकिङक्षेत्र हुँदै अहिले शासन व्यवस्था विरुद्धमा केन्द्रीत हुन आएको छ । दुर्गा प्रसाईलाई कसैले सही भनोस् वा गलत त्यो फरक कुरा हो । उनले गरेका कामहरु सही छन् वा गलत त्यो आफ्नो ठाँउँमा छ । संगठन, चेन अफ कमाण्डमा कसैले परिचालित गर्न सक्दछ भने दुर्गा प्रसाईले सानो समुह नै भएपछि सिष्टममा राखेर परिचालित गर्न सक्दछन् । त्यसको प्रमाण २०८१ चैत्र १५ मा तीनकुनेमा घटेको घटनाबाटै पनि पुष्टि हुन्छ ।
प्रभावकारी संगठन बनाएको एउटा शक्तिले यतिबेला यो निर्वाचनले निकास दिँदैन, २०८४ मा हुने चुनाव ०८२ मा सार्नको लागि जेनजी आन्दोलन गरेको होइन भन्दै चर्को विरोध गर्दै आइरहेका छन् ।
सेनाको आडमा, सुरक्षा घेरामा निर्वाचन गरेर मत खसाल्न सकिन्छ । तर, जनताको समस्या । जनतामा देखिएको निराशा र आक्रोस, विकास र समृद्धि प्रतिको जनताको आशालाई कसरी सम्बोधन हुन्छ ? एकातिर जनताको समस्या जहाँको त्यही हुने, लघुवित्त पीडित, बैंक ऋणीहरुको समस्या जहाँको त्यही हुने अर्कोतफ सिंहदरवारमा नयाँ पात्र फेरिदैमा मुलुकका विद्यमान समस्याहरुको हल भएर निकास निस्कन सक्दैन । बरु, यसले झनै सहमति गर्ने बिन्दुलाई छोपेर बिजयी टिमले सत्ता उन्मादले जनतामाथि दमन गर्ने स्थितिमा देशमा शान्ति, अमन चयन काम हुनसक्छ भनेर विश्वास गर्ने पर्याप्त आधारहरु देखिदैन ।
नयाँ निर्वाचनपछि आर्थिक समृद्धि, सुशासनका लागि धेरै आशा गर्नु निरर्थक हुनेछन् । बरु नयाँ राजनीतिक व्यवस्था, नयाँ क्रान्तिको लागि तयार हुनुपर्ने समय आएको देखिन आएको छ ।












