बीमा पोलिसी सरेण्डर १९% ले घट्यो, १२ लाख नेपालीले गरेनन् पोलिसी रिन्यू

१७ फाल्गुन २०८२, आईतवार १०:२०

काठमाडौं । जीवन बीमा कम्पनीहरुको पोलिसी सरेण्डर रकम १९.०७ प्रतिशतले घटेको छ । नेपालमा सञ्चालित रहेका जीवन बीमा कम्पनीहरुबाट चालु आर्थिक वर्षको माघ महिनासम्ममा सरेण्डरमार्फत साढे झण्डै सात अर्बबढी रुपैयाँ बाहिरिएको हो ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्ब अनुसार चालु आर्थिक वर्षको माघ महिनासम्ममा जीवन बीमा कम्पनीहरुबाट ६ अर्ब ९५ करोड १७ लाख रुपैयाँ बाहिरिएको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा १९.०७ प्रतिशत कम हो । गत आवको माघ महिनासम्म जीवन बीमा कम्पनीहरुबाट पोलिसी सरेण्डरमार्फत आठ अर्ब ५९ करोड दुई लाख रुपैयाँ बाहिरिएको थियो ।

सरेण्डर रकमसँगै बीमालेख त्याग गर्नेको संख्या पनि गत आवको तुलनामा घटेको छ । गत आवको माघ महिनासम्म ६२ हजार ५२३ जनाले बीमालेख सपर्मण गरेकोमा चालु आवको माघ महिनासम्म भने ५९ हजार ६७२ जनाल मात्रै पोलिसी समर्पण गरेका छन् । यस हिसाबमा बीमालेख समर्पण संख्या ४.५६ प्रतिशतले घटेको छ ।

त्यस्तै, जीवन बीमकहरुमा व्यतित बीमालेख रकम (नविकरण नगरिएको रकम) भने २.९७ प्रतिशतले बढेको छ । गत आवको माघ महिनासम्ममा बीमालेख नविकरण नगरिएको रकम ३६ अर्ब ६२ करोड ६ लाख रुपैयाँ रहेकोमा चालु आवको सो अवधिसम्म ३७ अर्ब ७० करोड ८२ लाख रुपैयाँ रहेको छ । यता व्यतित बीमालेखको संख्या चाँही ०.७१ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा १२ लाख २६ हजार २७५ वटा बीमा पोलिसीहरु रिन्यू भएका छैनन् । गत आवको सोही अवधिसम्म यस्तो संख्या १२ लाख ३४ हजार ९८३ रहेको थियो ।

जीवन बीमा कम्पनीहरुमा पोलिसी सरेण्डरदर कम भएपनि व्यतित भएका बीमालेख संख्या र रकम बढ्दै गइरहेको छ । यस्तो दर बढ्दै जाँदा बीमा कम्पनीहरुको व्यवसायमा प्रतिकुल असर पार्ने देखिन्छ । नियामक निकाय नेपाल बीमा प्राधिकरण, जीवन बीमा कम्पनी र अभिकर्ताहरुको अथक प्रयास र जनचेतनाका कारण पोलिसी सरेण्डरदर घट्न सफल भएको छ । केही समययता पोलिसी सरेण्डरको अवस्था भयाभह रहेको थियो ।

केही समययता देशमा उत्पन्न भएको राजनीतिक घटनाक्रम र लाखौं नागरिकहरु सहकारीमा डुबेसँगै बीमितहरुले जीवन बीमाको प्रिमियम पनि सोही सरह लगेर भाग्नै भन्दै पोलिसी सरेण्डर गर्ने चलन नै चलाएको थियो । तर, बीमा कम्पनी र अभिकर्ताहरुको उच्च सक्रियताले पोलिसी सरेण्डरदर घट्न पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*