कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्षसहित ५ जना सञ्चालकसँग पुनः स्पष्टीकरण माग

१७ फाल्गुन २०८२, आईतवार ११:२१

काठमाडौं । समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्षसहित पाँच जना सञ्चालकलाई नेपाल राष्ट्र बैंकले पुनः स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

केन्द्रीय बैंकअन्तर्गतको वित्तीय संस्था सुपरीवेक्षण विभागले आइतबार सार्वजनिक सूचना जारी गर्दै बैंकका तत्कालीन अध्यक्ष डा. ओम प्रकाश मिश्र तथा सञ्चालकहरू युवराज अधिकारी, उषा कुमारी भण्डारी, टंक बहादुर बस्नेत र निसार अहमद दर्जीलाई १० दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनेको हो।

यसअघि केन्द्रीय बैंकले २०८२ असोज २८ गते १५ दिनको समयसीमा तोक्दै अध्यक्ष र सञ्चालकहरूलाई पदबाट हटाउनु नपर्ने कारण खुलाएर पेश गर्न निर्देशन दिएको थियो। तर, तोकिएको अवधिभित्र सम्बन्धित व्यक्तिहरूबाट कुनै पनि जवाफ प्राप्त नभएको जनाउँदै पुनः सूचना प्रकाशित गरिएको हो।

नयाँ सूचनाअनुसार सम्बन्धित पदाधिकारीहरूले आफ्नो स्पष्टीकरण नेपाल राष्ट्र बैंकको नेपालगञ्ज कार्यालय, वित्तीय संस्था सुपरीवेक्षण विभाग वा व्यवस्थापन समूह, कर्णाली डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय, नेपालगञ्ज, बाँकेमा बुझाउन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*