ह्वात्तै बढ्यो बीमा कम्पनीहरुको दावी बक्यौता, ५५ अर्ब १४ करोड भुक्तानी गर्न बाँकी, कसको कति ?

काठमाडौं । नेपाली बीमा कम्पनीहरुको बीमा दावी बक्यौता (बीमा दावी भुक्तानी गर्न बाँकी रकम) आधा खर्ब नाघेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्ब अनुसार चालु आवको माघ महिनासम्मको अवधिमा सञ्चालित १४ जीवन र १४ निर्जीवन बीमा कम्पनीहरुको सो बीमा दावी बक्यौता हो ।
समीक्षा अवधिमा जीवन र निर्जीवन बीमा कम्पनीहरुको बीमा दावी बक्यौता रकम ५५ अर्ब ६० करोड १४ लाख रुपैयाँ रहेको छ । जसमा जीवन बीमा कम्पनीहरुको पाँच अर्ब ४५ करोड १८ लाख रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुको ५० अर्ब १४ करोड ९६ लाख रुपैयाँ रहेको छ । निर्जीवन बीमा कम्पनीहरुमा पछिल्लो केही वर्षयता बाढी, पहिरो र जेन–जी आन्दोलनले बीमा दावी रकम ह्वातै बढाएको छ ।
चालु आर्थिक वर्षको माघ मसान्तसम्म जीवन बीमा कम्पनीहरुले २४ अर्ब ८८ करोड ९५ लाख रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेका छन् । कम्पनीहरुले एक लाख २३ हजार ९२ जना बीमितहरुलाई उक्त बीमा दावी बराबरको रकम उपलब्ध गराएका हुन् । जीवन बीमा कम्पनीहरुको बीमा दावी रकम १.२१ प्रतिशतले बृद्धि भएको छ । सोही कम्पनीहरुको बीमा दावी बक्यौता रकम ४३.४२ प्रतिशतले बृद्धि भएर पाँच अर्ब ४५ करोड १८ लाख रुपैयाँ पुगेको छ ।

स्रोतः बीमा प्रतिबिम्ब
निर्जीवन बीमा कम्पनीहरुले पनि बीमा दावी भुक्तानीलाई निकै प्राथमिकताका रुपमा लिएर अघि बढेका छन् । कम्पनीहरुले चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा १५ अर्ब ८२ करोड रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ । सो कम्पनीहरुको बीमा दावी भुक्तानी ३२.३० प्रतिशतले बृद्धि भएको छ ।
समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुको दावी दावी बक्यौता रकम ठूलो मात्रामा बृद्धि भएको छ । गत आर्थिक वर्षको माघ महिनाको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको दावी बक्यौता रकम ५१.२८ प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको दावी बक्यौता रकम ५० अर्ब १४ करोड ९६ लाख रुपैयाँ रहेको छ ।
नेपाल बीमक संघ र जीवन बीमक संघले पुनर्बीमा कम्पनीहरुले बीमा दावी बापतको रकम भुक्तानीमा ढिलाइ गरेका कारण दावी भुक्तानी ढिलासुस्ती हुदै गएको धारणा दिदै आएका छन् । नेपाल बीमक संघका अध्यक्ष विरेन्द्र बैदवार क्षेत्रीले नेपाल बीमा प्राधिकरणलाई पुनर्बीमा सम्बन्धि निर्देशिक समेत संशोधन गर्नुपर्ने बताएका छन् । उनले पुनर्बीमा कम्पनीहरुको ढिलासुुस्तीका कारण समयमा दावी भुक्तानी दिन नसकीरहेको प्रस्ट पारेका छन् ।












