श्री स्टील्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग

काठमाडौँ । श्री स्टील्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको हो ।
कम्पनीले उक्त शेयर निष्काशन कार्यका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । नेपालको एक प्रसिद्ध नाम श्री स्टील्स लिमिटेड एक पूर्ण स्वचालित प्लान्ट हो जसले टिएमटि रिबारहरुको निर्माणमा विशेषज्ञता हासिल गरेको छ । नेपाल जस्तो भौगोलिक जटिलता र भुकम्पीय जोखिम रहेको देशको संरचना निर्माणमा अत्याधिक बलिया संरचनाहरु निर्माणमा ध्यान दिनुपर्ने हुन्छ । श्री स्टील्स नेपालको पहिलो ब्राण्ड हो जोसंग टिएमटि रिबारहरुको उत्पादनको लागि सिक्स स्ट्यान्ड ब्लक मिलको अत्याधुनिक जापानी प्रबिधिमा आधारित उपकरण रहेको छ । विश्वमा उपलब्ध भएका सबैभन्दा उत्तम प्रविधि प्रयोग गरेर नेपालमा सम्भव भएसम्म उत्कृष्ठ उत्पादन गरी नेपालको औद्योगिक आधारलाई बलियो बनाउनु र इमान्दारी तथा निष्ठाका साथ देश निर्माणका लागि आवश्यक फलाम तथा रड जन्य पदार्थमा देशलाई आत्मनिर्भर बनाउँने र रोजगारी सृजना गर्ने यस कम्पनीको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
आज भएको सो सम्झौतामा श्री स्टील्स लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध संचालक राजेश कुमार अग्रवाल तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे । निष्काशन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सोमेश अग्रवालको रोहवरमा सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न गरियको कम्पनीले जनाएको छ ।












