चुनावको मुखमै पुँजी बजारमा रौनकः कारोबार समेत बढ्यो, फाइनान्सको मूल्यमा चमक

१७ फाल्गुन २०८२, आईतवार १५:०८

काठमाडौँ । निर्वाचनको मुख निरै शेयर बजारमा हरियाली देखिएको छ । आज बजार लगातार पाँचौं दिन हरियो संकेत देखाउँदै चलिरहेको छ । गत साता समेत हरियाली देखिएको बजार यो साताको पनि सोहि निरन्तरता दिएको हो । प्रतिनिधि सभाको चुनाव हुन एक ४दिन बाँकी रहँदा अब बजार १ दिनमात्र खुल्ने हुँदा लगानीकर्ताले चुनावअघि सकारात्मक संकेतलाई मनोबल बढाउने संकेतको रूपमा लिएका छन् ।

राजनीतिक अस्थिरता र नीति स्पष्टताको अभावले भने बजारमा सतर्कता कायम राखेको छ। फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा कुनै दलले स्पष्ट बहुमत पाउने सम्भावना कम देखिँदैछ । यसले चुनावपछिको सरकारको नीतिगत दिशामा अनिश्चितता सिर्जना गरेको छ र बजारमा उतारचढावको वातावरण बनाएको छ ।

अधिकांश लगानीकर्ताले चुनावपछिको सरकारको नीतिहरूलाई हेरी निर्णय गर्ने ‘पर्ख र हेर’ नीति अपनाइरहेका छन्। यस कारण दैनिक कारोबार रकममा केही कमी देखिएको भए पनि बजारमा सुधारको संकेतले दीर्घकालीन रूपमा लगानीकर्तामा भरोसा जगाउने अपेक्षा गरिएको छ।

बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर न्यून स्तरमा राखिसकेका छन्। नियामक निकायले पुँजी बजारप्रति सकारात्मक र उदार नीति लागू गर्दै आएका छन् भने हरेक राजनीतिक दलले शेयर बजारका मुद्धालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यी पहलहरूले दीर्घकालीन रूपमा बजारमा स्थायित्व र सुधार ल्याउने सम्भावना रहेको विशेषज्ञहरूले बताएका छन्।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.२७ अकंले बढेर २६७४.२० बिन्दुमा कायम भएको छ । आज ३४१ कम्पनीको १ करोड ३१ लाख ९३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६४ करोडको कारोबार भएको हो ।

यसदिन फाइनान्स समूहको शेयर मूल्यमा चमक देखिएको छ । फाइनान्स समूह मात्रै एकैदिन २.२२ प्रतिशतले बढेको हो । सार्थै, अन्य १२ उपसूचकमा पनि सुधार भएको छ ।

आइतबार १८७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६४ कम्पनीको घटेको हो । ११ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*