एकै पटक १० हजारसम्म एसएमएस पठाउन सकिने टेलिकमको सेवा

काठमाडौँ । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले आफ्ना मोबाइल प्रयोगकर्ताका लागि सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा उपलब्ध गराएको छ । एकै पटक धेरै व्यक्तिलाई सूचना प्रवाह गर्नुपर्ने अवस्था लक्षित गर्दै कम्पनीले दुई हजारदेखि १० हजारसम्म सन्देश पठाउन सकिने प्याकेज सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार एउटै सन्देश ठूलो संख्यामा ग्राहक, कर्मचारी, सेवाग्राही वा सदस्यहरूसम्म पुर्याउनुपर्ने व्यक्ति तथा संस्थाले यस सेवाबाट लाभ लिन सक्नेछन् । शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, व्यावसायिक प्रतिष्ठानलगायतले पहिलेदेखि नै यो सेवा प्रयोग गर्दै आएका छन् ।
नेपाल टेलिकमले तोकेको शुल्कअनुसार रु. १,२४३ मा २ हजार एसएमएस, रु. ३,१०८ मा ५ हजार एसएमएस र रु. ६,२१५ मा १० हजार एसएमएस पठाउन सकिन्छ । आवश्यकताअनुसार प्याकेज छनोट गरी एकै पटक ठूलो संख्यामा सन्देश प्रेषण गर्न सकिने कम्पनीले जनाएको छ ।
सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा दर्ता भएको कम्पनीको सिमकार्ड अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने व्यवस्था छ । साथै प्रेषित सन्देशको विषयवस्तु, शब्द चयन र भावसम्बन्धी सम्पूर्ण जिम्मेवारी पठाउने व्यक्ति वा संस्थाकै हुने कम्पनीले स्पष्ट पारेको छ ।
यो सेवा मोबाइल, डेस्कटप वा ल्यापटपबाट अनलाइनमार्फत प्रयोग गर्न सकिन्छ । प्रयोगकर्ताले आधिकारिक वेबसाइटमा लगइन गरी आवश्यक प्याकेज खरिद गर्नुपर्नेछ । त्यसपछि सामूहिक रूपमा सन्देश पठाउनुपर्ने मोबाइल नम्बरहरू एक्सेल शिटमार्फत अपलोड गर्न सकिने व्यवस्था गरिएको छ ।












