सेनाले भन्यो ‘शान्तिपूर्ण निर्वाचन गराउन प्रतिवद्ध छौं’

काठमाडौँ । नेपाली सेनाले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ। जङ्गी अड्डास्थित जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा एकीकृत सुरक्षा योजना अनुसार सम्बद्ध सबै निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गरी निर्वाचन सुरक्षा व्यवस्थापन भइरहेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा निर्वाचनसम्बन्धी सम्पूर्ण सुरक्षा कार्यहरू “प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन–२०७४” तथा “प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२” बमोजिम सञ्चालन भइरहेको स्पष्ट पारिएको छ। यसअघि सम्पन्न निर्वाचनहरूमा जस्तै यस पटक पनि मतदान कार्य सम्पन्न भएपछि स्थापित प्रोटोकलअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन अधिकृत, राजनीतिक दलका तोकिएका प्रतिनिधि तथा नेपाली सेना सम्मिलित एकीकृत टोलीमार्फत मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म ढुवानी गरिने जनाइएको छ।
नेपाली सेनाले वि.सं. २०४८ सालदेखि सम्पन्न सबै प्रतिनिधि सभा निर्वाचनहरूमा सक्रिय रूपमा परिचालन भई मतपत्र छपाइ स्थलको सुरक्षा, काठमाडौँबाट देशभरका जिल्लास्थित निर्वाचन कार्यालयसम्म मतपत्र ढुवानी, निर्वाचन अवधिभर तेस्रो घेरामा रही सुरक्षा प्रदान गर्ने तथा निर्वाचन सम्पन्न भएपछि संयुक्त टोलीमार्फत मतपेटिका मतगणना स्थलसम्म सुरक्षित रूपमा पुर्याउने जिम्मेवारी निर्वाह गर्दै आएको जनाएको छ।













