भिषण युद्धले मध्यपूर्वका २१ लाख नेपाली बन्धक, सबैतिर त्रास र अनिश्चितता

काठमाडौँ । मध्यपूर्व यतिबेला भिषण युद्धको चपेटामा परेको छ । इजरायल र संयुक्त राज्य अमेरिकाले गरेको संयुक्त आक्रमणमा परी आयातोल्ला अली खामेनीको निधन भएको खबर सार्वजनिक भएपछि क्षेत्रीय तनाव चरम बिन्दुमा पुगेको छ । त्यसको बदलामा इरानले एकैसाथ आठ देशका सैनिक शिविरलाई लक्षित गर्दै हमला गरेको जनाइएको छ । प्रत्याक्रमणसँगै मध्यपूर्वका विभिन्न देशमा त्रास, अनिश्चितता र सुरक्षा चुनौती झन् बढेको छ ।
युद्ध फैलिँदै जाँदा त्यस क्षेत्रमा रोजगारी, श्रम तथा व्यवसायका सिलसिलामा रहेका लाखौं नेपाली प्रत्यक्ष प्रभावित भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार मध्यपूर्वका विभिन्न देशमा हाल १७ लाख २९ हजार २८८ नेपाली वैधानिक रूपमा कार्यरत तथा बसोबास गर्दै आएका छन् । अवैधानिक रूपमा बसोबास गर्नेको संख्या २ देखि ३ लाखसम्म हुन सक्ने अनुमान छ । यस आधारमा करिब २१ लाख नेपाली मध्यपूर्व क्षेत्रमा रहेको आंकलन गरिएको छ ।
देशअनुसार हेर्दा संयुक्त अरब इमिरेट्समा करिब ७ लाख नेपाली छन् भने साउदी अरबमा ३ लाख ८४ हजार ८६५, कतारमा ३ लाख ५७ हजार ९१३ र कुवेतमा १ लाख ७५ हजार नेपाली कार्यरत छन् । त्यस्तै तनावग्रस्त तथा त्यसको आसपासका देशहरूमा इराकमा ३० हजार, बहराइनमा २८ हजार, ओमानमा २५ हजार, साइप्रसमा १७ हजार, इजरायलमा करिब ६ हजार ५ सय र लेबनानमा १ हजार ५ सय नेपाली रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी इजिप्टमा करिब ५ सय र इरानमा १० जना नेपाली रहेकोमा इरानबाट ४ जना फर्किने क्रममा रहेको र ६ जना त्यहीँ सुरक्षित स्थानमा रहेको जानकारी दिइएको छ ।
युद्ध चर्किँदै जाँदा सो क्षेत्रमा रहेका नेपालीहरू घर वा आवासभित्रै सीमित हुन बाध्य भएका छन् । हवाई उडानहरू प्रभावित भएका छन् भने विस्फोटका ठूलो आवाज र सैन्य गतिविधिले दैनिक जीवन ठप्पजस्तै बनेको छ । रोजगारीका सिलसिलामा पुगेका नेपाली काममा जान नसक्ने, बजार खुला नहुने र आवतजावतमा कडाइ हुँदा घरभित्रै बस्न बाध्य भएका छन् । यस अवस्थाले उनीहरू मानसिक रूपमा पनि ठूलो दबाबमा परेको बताइन्छ ।
सरकारले त्यहाँ रहेका नेपालीहरूको सुरक्षा उच्च प्राथमिकतामा राखेको जनाएको छ । परराष्ट्र मन्त्रालयले आपतकालीन उद्धार तथा समन्वयका लागि पूर्वतयारी सुरु गरिसकेको जानकारी दिएको छ । मध्यपूर्वमा रहेका ८ वटा नेपाली दूतावास र २ वटा वाणिज्य दूतावासमार्फत चौबिसै घण्टा सूचना संकलन तथा आदानप्रदान भइरहेको मन्त्रालयको भनाइ छ । आकस्मिक अवस्था सिर्जना भए तत्काल उद्धार प्रक्रिया अघि बढाउने तयारीसमेत गरिएको छ ।
युद्ध लम्बिँदै गए २१ लाख नेपालीको अवस्था थप जटिल बन्न सक्ने देखिएको छ । कामबिहीन, त्रासग्रस्त र अनिश्चित भविष्यको सामना गरिरहेका उनीहरू अहिले घरभित्रै बन्धकझैं जीवन बिताउन बाध्य छन् । क्षेत्रीय तनाव अझै बढेमा आपूर्ति प्रणाली, रोजगारी र सुरक्षामा गम्भीर असर पर्ने सम्भावनाले नेपाल सरकारसमक्ष कूटनीतिक सक्रियता र उद्धार योजनालाई अझ प्रभावकारी बनाउने चुनौती थपिएको छ ।
विदेशमा रहेका नेपालीहरू अधिकांशले ठूलो ऋण लिएर विदेशिएका छन्। युद्धका कारण रोजगारी गुम्ने र स्वदेश फर्कनै पर्ने अवस्था आउँदा आर्थिक र मानसिक दुवै संकट झनै बढ्ने देखिएको छ ।












