दुर्गा प्रसाईंलाई पाँच दिन थुनामा राख्न अनुमति

काठमाडौँ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनुमति दिएको छ । उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गर्न हिरासतमा राखिएको प्रशासनले जनाएको हो ।
प्रसाईंलाई आइतबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो । पक्राउपछि उनलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गरिएको प्रशासनले जानकारी दिएको छ । यसअघि पनि उनी ४ फागुनमा काठमाडौंबाट पक्राउ परेका थिए र १३ फागुनमा रिहा भएका थिए ।
उनीमाथि सार्वजनिक अभिव्यक्तिमार्फत शान्ति–सुरक्षामा असर पर्ने गतिविधि गरेको आरोपमा अनुसन्धान अघि बढाइएको बताइएको छ । प्रसाईंले पछिल्लो समय देशमा चुनाव नहुने अभिव्यक्ति सार्वजनिक रूपमा दिँदै आएका थिए ।
यसअघि उनकी पत्नी उमा प्रसाईंले गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । सो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।












