मध्यपूर्व संकटले नेपाली आकाश प्रभावित, १४ अन्तर्राष्ट्रिय उडान रद्द

१८ फाल्गुन २०८२, सोमबार १०:२९

काठमाडौँ । मध्यपूर्वमा बढ्दो सैन्य तनावका कारण आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने १४ अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् । अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमण र त्यसको जवाफमा इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैनिक अड्डामाथि गरेको प्रहारपछि ती क्षेत्रका हवाई मार्ग अनिश्चित बनेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आइतबार नेपालबाट मध्यपूर्वतर्फ हुने तथा मध्यपूर्वबाट नेपाल आउने सम्पूर्ण उडान रद्द गरिएका छन् । नेपालबाट जजिरा, कुवेत, एयर अरेबिया, फ्लाई दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सका उडान प्रभावित भएका हुन् । मध्यपूर्वतर्फ प्रस्थान गर्ने र त्यहाँबाट काठमाडौं आउने उडान अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको विमानस्थलले जनाएको छ ।

उडान रद्द भएसँगै मध्यपूर्व जाने र त्यहाँबाट फर्कने तयारीमा रहेका हजारौँ यात्रु समस्यामा परेका छन् । कतिपय यात्रु विमानस्थलमै अलपत्र परेका छन् भने केहीले टिकट पुनः तालिका मिलाउने वा रिफन्डका लागि सम्बन्धित एयरलाइन्सको सम्पर्क लिन थालेका छन् ।

मध्यपूर्वका सात प्रमुख विमानस्थलबाट मात्रै करिब तीन हजार चार सय उडान रद्द भएका छन् । क्षेत्रीय आकाश असुरक्षित बनेपछि कुवेत, संयुक्त अरब इमिरेट्स, कतार, इरान, इराक, जोर्डन, इजरायल, लेबनान र बहराइनलगायत देशले आफ्नो एयर स्पेस बन्द गरेका छन् ।

मध्यपूर्वको तनावले विश्वव्यापी हवाई सेवामा समेत प्रभाव पारेको छ । सामान्यतया मध्यपूर्वको आकाश हुँदै आवतजावत गर्ने युरोप–एसिया र अफ्रिका–एसिया मार्गका जहाजहरूले वैकल्पिक रुट प्रयोग गर्न थालेका छन् । यसले उडान समय लम्बिनुका साथै इन्धन खर्च र सञ्चालन लागत बढ्ने सम्भावना रहेको हवाई क्षेत्रका जानकारहरूले बताएका छन् ।

अहिले पनि आक्रमण र जवाफी कारबाही जारी रहेकाले उडान नियमित हुने समयबारे यकिन हुन सकेको छैन । यात्रुहरूलाई सम्बन्धित एयरलाइन्स र विमानस्थलको आधिकारिक सूचनामार्फत पछिल्लो अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*