चालु आर्थिक वर्षको विकास बजेट खर्च आठ महिनामा २० प्रतिशतमात्रै, निर्माण क्षेत्रमा मजदुर अभाव प्रमुख चुनौती

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ का लागि छुट्याइएको पुँजीगत बजेटमध्ये अझै २० प्रतिशत मात्र खर्च भएको छ। सरकारले जेठ १५ मा विकासका लागि ४ खर्ब ७ अर्ब रुपैयाँ छुट्याएको भए पनि महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार फागुन १७ सम्म मात्र ७५ अर्ब ८३ करोड ४३ लाख रुपैयाँ खर्च भएको छ। यो कुल बजेटको १८.५९ प्रतिशत मात्र हो।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले विकास बजेट खर्च नहुनुको प्रमुख कारण निर्माण क्षेत्रमा काम नचल्नु रहेको बताए। अध्यक्ष सिंहका अनुसार सरकारले कामको समयमा ठेक्का तोडेका कारण पनि विकास आयोजना प्रभावित भएको छ। उनका अनुसार अहिले मुख्य समस्या आर्थिक संकट र मजदुर अभाव हो।
अध्यक्ष सिंहले भने, ‘विकास बजेट खर्च नहुनुको कारण श्रमिक अभाव हो। हाल काम गर्ने माहोल छैन। जेनजी आन्दोलनपछि अस्थिरताको असरले पनि काम प्रभावित भएको छ। अर्थ मन्त्रालयले पनि विकास बजेटलाई खुम्चाउने प्रयास गरिरहेको छ।’
उनले थपे कि मजदुर अभाव बढ्दो छ र अर्थतन्त्र सुस्त हुँदा निर्माण क्षेत्रमा मात्र होइन अन्य धेरै क्षेत्रहरूमा पनि गतिविधि प्रभावित भइरहेको छ। अध्यक्ष सिंहले निर्माण क्षेत्रलाई चलायमान बनाउन सरकारले ध्यान दिनुपर्ने बताएका छन् जसले अन्य क्षेत्रहरूमा आर्थिक गतिविधि बढाउन मद्दत गर्नसक्छ।












