प्रतिनिधिसभा निर्वाचनका लागि ४८ घण्टे मौन अवधि लागू

काठमाडौं । प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार हुने निर्वाचनको तयारी अन्तर्गत सोमबार मध्यरातदेखि ४८ घण्टे मौन अवधि लागू भएको छ। निर्वाचन आचारसंहिताअनुसार मतदान शुरु हुनुभन्दा ४८ घण्टाअघि देखी मतदान प्रक्रिया सम्पन्न नहुँदासम्म यो अवधि कायम रहन्छ।
यस अवधिमा प्रचारप्रसार, भाषण, सभा, भेला, छलफल, अन्तरक्रिया, गोष्ठी, कार्यशाला तथा निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइँदैन। मत माग्ने, सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्ने, अनलाइन वा छापा माध्यमबाट पक्ष वा विपक्षमा सन्देश फैलाउने कार्यसमेत निषेध गरिएको छ।
मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले आर्थिक लेनदेन गरेको पाइए कडा कारबाही गरिने निर्वाचन आयोगले चेतावनी दिएको छ। यस्तो अवस्थामा उम्मेदवारी खारेज हुनेदेखि निश्चित अवधिसम्म कुनै पनि निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने सजायसमेत हुन सक्नेछ।
मौन अवधि शुरु भएसँगै मतदान केन्द्रको तीन सय मिटर वरपर राखिएका प्रचार सामग्री हटाइने गरिन्छ। राजनीतिक दल, उम्मेदवार, भ्रातृ संगठन तथा सम्बन्धित व्यक्ति वा संस्थाले यस अवधिमा विशेष आचरण पालना गर्नुपर्ने प्रावधान आचारसंहितामा उल्लेख छ।












