इरानद्वारा तेल र ग्यास आपूर्तिको समुद्री जलमार्ग बन्द, मूल्य तीव्र बढ्ने जोखिम!

काठमाडौँ। होर्मुज जलडमरू बन्द गरिएको घोषणा गर्दै इरानले सो क्षेत्रबाट तेल पारवहन हुन नदिने चेतावनी दिएको छ। तेलका लागि क्षेत्रीय शक्तिहरू ‘प्यासी’ रहेको आरोप लगाउँदै इरानले आवश्यक परे पाइपलाइन तथा ढुवानी संरचनामाथि प्रहार गर्ने समेत संकेत गरेको हो।
इरानले जलडमरूमार्फत पार गर्न खोज्ने कुनै पनि जहाजमाथि आक्रमण गरिने चेतावनी दिएको छ। इरानी राज्य टेलिभिजनसँग कुरा गर्दै आईआरजीसी का कमान्डर–इन–चिफका सल्लाहकार इब्राहिम जब्बारीले यस्तो चेतावनी दिएका हुन्।
‘होर्मुज जलडमरू बन्द गरिएको छ। यदि कसैले पार गर्ने प्रयास गरेमा, रिभोलुसनरी गार्डका वीरहरू र नियमित नौसेनाले ती जहाजहरूलाई जलाएर भष्म पारिदिनेछन्’ जब्बारीले भने।
इरान र ओमान बीच अवस्थित होर्मुज जलडमरू विश्वकै सबैभन्दा महत्वपूर्ण समुद्री ढुवानी मार्गहरूमध्ये एक मानिन्छ। विश्वको करिब २० प्रतिशत कच्चा तेल र ठूलो परिमाणमा प्राकृतिक ग्यास यही मार्ग हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्ने गर्छ। खाडी क्षेत्रका प्रमुख तेल उत्पादक देशहरूबाट निर्यात हुने तेल यही जलमार्ग हुँदै एसिया, युरोप र अन्य क्षेत्रतर्फ जाने भएकाले यसलाई वैश्विक ऊर्जा आपूर्तिको ‘चोकपोइन्ट’ का रूपमा लिइन्छ।
यस जलमार्गमा हुने कुनै पनि अवरोधले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढाउने जोखिम रहन्छ। साथै, क्षेत्रीय तथा विश्वस्तरमै सैन्य तनाव चुलिने र आपूर्ति शृङ्खला प्रभावित हुने आकलन गरिएको छ। ऊर्जा आयातमा निर्भर मुलुकहरूका लागि यस्तो अवस्थाले मुद्रास्फीति, ढुवानी लागत र व्यापार घाटामा थप दबाब सिर्जना गर्न सक्ने विश्लेषण गरिएको छ।












