चुनावअघिको अन्तिम कारोबारको दिन बजारमा रौनकः अधिकांशको शेयर मूल्यमा उछाल, कस्तो होला नयाँ यात्रा ?

काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचनअघिको अन्तिम कारोबारको दिन शेयर बजारमा उच्च सुधार देखिएको छ । पछिल्लो केही दिनयता बजार निरन्तर हरियाली यात्रामा अघि बढेको हो । राजनीतिक स्थिरता र नीति स्पष्टताले लगानीकर्तामा आत्मविश्वास बढाएको र बजारलाई सकारात्मक दिशामा अघि बढाएको विश्लेषकहरूले बताएका छन् ।
निर्वाचनमा होमिएका राजनीतिक दलहरूले शेयर बजारलाई मुख्य प्राथमिकतामा राखेको जनाएपछि लगानीकर्ताले चुनावपछिको बजारमा नयाँ यात्रा सुरु हुने विश्वासमा छन् । चुनावपछिको सरकारको नीतिगत दिशामा स्पष्टता आउने अपेक्षाले पनि बजारमा उत्साह बढाएको छ ।
पछिल्लो केही दिनयता कारोबारमा समेत सुधार आएको छ । लगानीकर्ताको हौसला बढ्दै गएको र बजारमा सकरात्मक व्यापार प्रवृत्ति देखिएको छ । विशेषज्ञहरूले लगानीकर्ताको विश्वासले बजारको दीर्घकालीन स्थायित्वमा योगदान पु¥याउने बताएका छन् ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर न्यून स्तरमा राखेका छन् भने नियामक निकायले पुँजी बजारप्रति सकारात्मक र उदार नीति लागू गरिरहेका छन् । यससँगै हरेक राजनीतिक दलले शेयर बजारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन् । यी पहलहरूले दीर्घकालीन रूपमा बजार सुधार र स्थायित्वको सम्भावना बलियो बनाउने देखिन्छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८.५२ अकंले बढेर २७१२.४९ बिन्दुमा कायम भएको छ । आज३२९ कम्पनीको १ करोड ५१ लाख ८४ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २३ करोड ४३ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन १२ उपसूचकमा हरियाली आएको छ । आज वाणिज्य बैंक समूहको १.६४ प्रतिशत, विकास बैंक समूहको १.५९ प्रतिशत, फाइनान्स समूहको १.४३ प्रतिशत, होटल तथा पर्यटन समूहको १.६० प्रतिशतले शेयर मूल्य बढेको छ ।
मंगलबार २५४ कम्पनीको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको मात्रै घटेकाअे छ । २ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।













