सर्लाहीमा निर्वाचन ड्युटीमा खटिएका मतदान अधिकृतको निधन

काठमाडौँ । सर्लाहीमा निर्वाचन ड्युटीमा खटिएका एक कर्मचारीको अकस्मात् निधन भएको छ। सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालयमा स्थापना गरिएको मतदान केन्द्रमा खटिएका मतदान अधिकृतको मंगलबार दिउँसो ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रौतहट घर भएका ४२ वर्षीय रघुनाथ महतोको उपचारका क्रममा मृत्यु भएको पुष्टि भएको छ। उनी सिनियर अहेब पदमा कार्यरत थिए।
प्राप्त जानकारीअनुसार मंगलबार दिउँसो करिब २ बजे मतदान केन्द्रमै उनी अचानक बेहोस भएका थिए। त्यसपछि सुरक्षाकर्मी र सहकर्मीहरूले तत्कालै उनलाई मलंगवास्थित प्रादेशिक अस्पताल मलंगवा पुर्याएका थिए। अस्पतालमा उपचारको प्रयास भए पनि भर्ना गरिएको करिब आधा घण्टापछि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।












