सिरहा ३ का जसपा उम्मेदवार नगद सहित पक्राउ

काठमाडौं । निर्वाचन प्रचारप्रसार निषेध अवधि (मौन अवधि) मा झण्डै ५ लाख रुपैयाँ नगद सहित सिरहा क्षेत्र नम्बर ३ का जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अशेश्वर यादवलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल–भारत सीमास्थित माडरबाट सिरहको सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कार्पियो गाडीलाई गएराति करीब साढे १२ बजे चेकजाँचको क्रममा ४ लाख ८७ हजार रुपैयाँ नगद फेला परेपछि उम्मेदवार यादव सहित ५ जनालाई पक्राउ गरिएको हो।
पक्राउ परेका पाँचै जनालाई हाल जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ। थप अनुसन्धान तथा कारबाहीका लागि उनीहरूलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी प्रहरीले गरेको छ। मौन अवधिमा मतदातालाई प्रभावित पार्न उम्मेदवारहरूले आचारसंहिता विपरीत कार्य गर्न सक्ने भन्दै प्रहरीले निगरानी कडा बनाएको छ।












