निर्वाचन विदामा पनि बैंकिङ्ग सेवा दिदैं बैंकहरु, राजनीतिक दलको कारोबार सहज बनाइने

काठमाडौं । नेपालमा सञ्चालित वाणिज्य तथा विकास बैंकहरुले निर्वाचनको दिन बाहेकको सार्वजनिक बिदामा बैंकिङ्ग सेवा उपलब्ध गराउने भएका छन् । केन्द्रिय बैंकको निर्देशन पश्चात बैंकहरुले आफ्ना आधिकारीक सामाजिक सञ्जालमार्फत देशका विभिन्न स्थानमा रहेका शाखा तथा काउण्टरहरु खुल्ला गरी बैंकिङ्ग सेवा उपलब्ध गराउने जानकारी दिएका हुन् ।
नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त वाणिज्य तथा विकास बैंकहरुले सरकारले फागुन २०, २१ र २२ गते घोषणा गरेको सार्वजनिक विदाको सन्दर्भमा २१ गते मतदान भएकाले यस दिन बाहेक अन्य २० र २२ गते बैंकिङ्ग सेवा उपलब्ध गराउने भएका छन् । बैंकहरुले शाखा कार्यालयबाट नगद काउन्टर, आइपीएस, क्लियरीङ र अत्यावश्यक सेवा उपलब्ध गराउने भएका छन् । साथै बैंकहरुले आफ्ना ग्राहकहरुलाई भ्याएसम्म डिजिटल कारोबार गर्न अनुरोध गरेको छ ।
निर्वाचन आयोगको अनुरोधमा केन्द्रीय बैंकले जारी गरेको सूचना अनुसार, फागुन २१ गते मुलुकभरका मतदाताले मतदान गर्ने दिन बाहेकका अन्य घोषित सार्वजनिक बिदाका दिनहरूमा निश्चित बैंकिङ सेवाहरू उपलब्ध हुनेछन् । साथै, निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता सञ्चालन गर्ने राजनीतिक दल तथा उम्मेदवारहरूका लागि नगद वा चेक जम्मा गर्ने तथा भुक्तानी दिने लगायतका आवश्यक बैंकिङ सेवाहरू प्रदान गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।
निर्वाचन आयोगको २०८२ फागुन १९ गतेको निर्णय बमोजिम उम्मेदवार र राजनीतिक दलहरूको आर्थिक कारोबारलाई सहज बनाउन र सरकारी राजस्व तथा भुक्तानी प्रक्रियालाई नरोक्न राष्ट्र बैंकले यो कदम चालेको जनाएको छ । निर्वाचनको सार्वजनिक विदामा बैंकहरुले सम्पूर्ण प्रदेशका प्रमुख क्षेत्रमा रहेका शाखा तथा काउन्टर सञ्चालन गरी सेवा दिरहेका छन् ।

























