यो हप्ता नेप्सेमा २ करोड ३९ लाख कित्ता शेयर सूचीकृत

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन र होली पर्वका कारण यो हप्ता २ दिन मात्रै खुलेको नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा ५ वटा कम्पनीहरूको बोनस शेयर बापत २ करोड ३९ लाख ८० हजार २३९ कित्ता शेयर सूचीकृत भएको छ।
गत आइतबार अपी पावर कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस शेयर बापत ३० लाख ३७ हजार ९६३.९१ कित्ता, सोल्टी होटल लिमिटेडको १५ प्रतिशत बोनस शेयर बापत १ करोड ५३ लाख २८ हजार ९८५ कित्ता र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १४ प्रतिशत बोनस शेयर बापत ८ लाख ३२ हजार ९२६ कित्ता शेयर सूचीकृत भएको हो।
सोमबार होली पर्वका कारण देशभर सार्वजनिक बिदा रह्यो भने मंगलबार पुनः एक दिन नेप्से खुला रह्यो। त्यसदिन घोराही सिमेन्ट इन्डष्ट्रिज लिमिटेडको १० प्रतिशत बोनस शेयर बापत ४५ लाख ६७ हजार ६८५.७० कित्ता र हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको ६.६५ प्रतिशत बोनस शेयर बापत २ लाख १२ हजार ६७९.०५६६ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।












