चुनाव रोक्ने गतिविधि गर्नेमाथि निर्मम बल प्रयोग हुन्छः आईजीपी कार्की

२० फाल्गुन २०८२, बुधबार १४:४२

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न देशभरको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बताएका छन् । निर्वाचन सुरक्षा व्यवस्थापनका विषयमा जानकारी दिँदै उनले चुनाव बिथोल्ने वा उच्छृङ्खल गतिविधि गर्ने जोकोहीमाथि कडा रूपमा बल प्रयोग गरिने चेतावनी दिएका हुन् ।

गृह मन्त्रालयको नेतृत्वमा निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग सम्मिलित एकीकृत सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइएको कार्कीले जानकारी दिए ।

उनका अनुसार अहिले चारवटै सुरक्षा निकायले आ–आफ्नो स्थानबाट सूचना संकलन गर्ने, त्यसको विश्लेषण गर्ने र सम्भावित चुनौतीहरूको मूल्यांकन गर्दै संयुक्त रूपमा काम गरिरहेका छन् । निर्वाचन गराउन आवश्यक पर्ने सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएको र देशैभरका सबै मतदान केन्द्रहरूमा सुरक्षाकर्मी पुगिसकेको उनले बताए ।

हिमाली तथा उच्च पहाडी जिल्लाहरूको सुरक्षा र कर्मचारी व्यवस्थापनका विषयमा बोल्दै आईजीपी कार्कीले मौसम पूर्वानुमान महाशाखासँगको समन्वयमा काम भइरहेको प्रस्ट पारे। तत्कालै हिमपातको ठूलो सम्भावना नदेखिए पनि अत्यधिक चिसो हुने क्षेत्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीको स्वास्थ्य तथा बन्दोबस्तीमा विशेष ध्यान दिइएको उनको भनाइ छ।

लामो दूरी हिँडेर जानुपर्ने र चिसो बढी हुने दुर्गम स्थानहरूमा निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी पुर्‍याउन हेलिकप्टरको समेत व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*