आर्थिक सुस्तताले व्यवसायी संकटमा, कालोसूचीको संख्या २ लाख नाघ्यो
२० फाल्गुन २०८२, बुधबार १४:४७

काठमाडौं । कालोसूचीमा परेका व्यक्तिहरुको संख्या २ लाख १४ हजार नाघेको छ। कर्जा सूचना केन्द्रका तथ्यांक अनुसार यो आंकडा २०४६ फागुन २१ देखि २०८२ फागुन १७ सम्मको हो।
कालोसूचीमा पहिलो व्यवसायिक नाम २०४६ फागुन २१ गते बाँसबारी छाला जुत्ता उद्योगको हेटौंडा छाला उद्योगका नाममा परेको थियो। २०४६ देखि २०७६ सम्म कुल कालोसूचीमा परेका व्यक्तिको संख्या ८ हजार ३ सय मात्रै थियो। तर २०७६ पछि यो संख्या तीव्र रूपमा बढेको देखिन्छ।
एकै वर्षमा मात्र संख्या १ लाख ११ हजार नाघेको तथ्यांक छ। अहिले यो संख्या २ लाख १४ हजार पुगिसकेको छ। विशेषज्ञका अनुसार, कोभिड महामारीपछि अर्थतन्त्रमा देखिएको सुस्त गतिका कारण व्यवसायीले बैंकको व्याज समयमै तिर्न नसक्दा कालोसूचीमा पर्ने संख्या बढेको हो।












