निर्वाचन ड्युटीकै क्रममा देशभर १२ जना सुरक्षाकर्मी र दुई मतदान अधिकृतको मृत्यु

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा देशका विभिन्न जिल्लामा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरूको मृत्युका घटनाले शोकको वातावरण बनेको छ। मतदान र सुरक्षासम्बन्धी जिम्मेवारी निर्वाह गर्ने क्रममा बेहोस हुने, दुर्घटनामा पर्ने तथा स्वास्थ्य समस्या देखिने जस्ता घटनामा परेर केही जनाले ज्यान गुमाएका हुन्।
सर्लाहीको पर्सा गाउँपालिका–४, जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा कार्यरत ४२ वर्षीय सिनियर अहेब रघुनाथ महतो मंगलबार ड्युटीकै क्रममा अचेत भएका थिए। रौतहटको माधव नारायण नगरपालिका–६ निवासी महतोलाई सहकर्मीहरूले तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्याएका थिए। उपचारकै क्रममा उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ। उनको शव पोस्टमार्टम गरिएको छ भने मृत्युको यकिन कारण खुल्न बाँकी छ। महतो सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा कार्यरत थिए।
यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका–९, सीता बस्तीस्थित जीवनशक्ति आधारभूत मतदान केन्द्रमा खटिएका ३५ वर्षीय निर्वाचन प्रहरी मानसिंह राना फागुन १८ को राति खाना पकाउने क्रममा अचेत भएका थिए। उनलाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले मृत घोषणा गरेका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी हेमबहादुर शाहीका अनुसार राना उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए।
बैतडीमा पछिल्लो एक महिनामा तीन जना निर्वाचन प्रहरीको ज्यान गएको छ। मृत्यु हुनेमा ३८ वर्षीय राजेन्द्र प्रसाद भट्ट, ३८ वर्षीय महादेव वड र ३२ वर्षीय प्रकाश चन्द रहेका छन्। दशरथचन्द नगरपालिका–३ निवासी चन्द ड्युटी सकेर फर्किने क्रममा भीरबाट लडेर घाइते भएका थिए र उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य दुई जना अचानक ढलेका थिए र अस्पताल लैजाँदा ज्यान जोगिन सकेन। निर्वाचन सुरक्षामा खटिएका ११ जना अस्थायी प्रहरी र एक जना प्रहरी सहायक निरीक्षक (असई)को विभिन्न कारणले मृत्यु भएको छ।
रामेछापमा फागुन १८ गते ना.७ ख ६७६८ नम्बरको गाडी दुर्घटनामा परी असई पर्शुराम यादवको ज्यान गएको थियो। उनी निर्वाचनसम्बन्धी जिम्मेवारीका लागि खटिएका थिए। पोस्टमार्टमपछि उनको शव गृहजिल्ला सप्तरीको रुपनी गाउँपालिका–१ पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
यसैबीच, मकवानपुरमा सवारीसाधनको ठक्करबाट २४ वर्षीय निर्वाचन प्रहरी पवन कुमार शाहको मृत्यु भएको छ। रौतहटका बासिन्दा शाह इलाका प्रहरी कार्यालय पशुपतिनगरमा कार्यरत थिए।
त्यस्तै, रामेछापमै अर्को सवारी दुर्घटनामा मतदान अधिकृत ५७ वर्षीय डोर प्रसाद घिमिरेको ज्यान गएको छ। मन्थली नगरपालिका–१ का घिमिरे मतपत्रसहित मतदान केन्द्रतर्फ जाँदै गर्दा दुर्घटनामा परेका थिए।
प्रहरी प्रधान कार्यालयका अनुसार ४० दिनको अस्थायी सेवामा भर्ना भई निर्वाचन सुरक्षामा खटिएका ११ जनाले विभिन्न जिल्लामा ज्यान गुमाएका छन्। रुपन्देही, बारा, महोत्तरी र नवलपरासीमा पनि यस अवधिमा मृत्युका घटना भएको जानकारी दिइएको छ।












